
कपिलबस्तुको बाणगंगा नगरपालिका विपत् व्यवस्थापन समितिको बैठकले आगामी दिनमा आउन सक्ने सम्भावित विपत्तिको सामना गर्न तयारी अवस्थामा रहन वडा स्तरीय विपत् व्यवस्थापन समितिहरूलाई निर्देशन दिएको छ।
बुधबार बसेको समितको बैठकले नगर क्षेत्रको विपत् पूर्वतयारी र क्षतिको विवरण सङ्कलनलाई प्रमुख प्राथमिकतामा राख्दै ठोस निर्णयहरू गरेको छ ।
तत्काल बैठक बसी बाढी र डुबानबाट पुर्याएको क्षतिको यथार्थ विवरण सङ्कलन गर्न र त्यसको आधारमा आवश्यक कदम चाल्न बैठकले वडा स्तरीय विपत् व्यवस्थापन समितिहरूलाई निर्देशन दिएको छ। क्षतिको विवरण सङ्कलन जनप्रतिनिधिहरूको रोहवरमा सुरक्षा निकायको सहकार्यमा गरिने बताईएको छ ।
विशेषगरी पूर्व पश्चिम राजमार्ग अन्तर्गत पिपरा, वैरिया, चार नम्बर, गजेहडा, र बनगाई बजार क्षेत्रका परम्परागत कलभट, खोल्सो, र कुलाहरूको व्यवस्थापनमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याइएको छ।
नगर प्रमुख तथा समितिका अध्यक्ष चक्रपाणि अर्यालले विपत्तिमा आवश्यक पर्ने एम्बुलेन्स, दमकल, स्वास्थ्य टोली, र जेसिबीलाई तयारी अवस्थामा राख्न निर्देशन दिनुभएको छ । साथै बिस्थापितहरूलाई तत्काल राहत उपलब्ध गराउने समेत बताउनुभयो ।
बैठकमा नगर स्तरीय राजनीतिक दलका प्रमुख, जनप्रतिनिधि, सङ्घसंस्था, सुरक्षा निकाय, नेपाल रेडक्रस सोसाइटी, र पत्रकार महासङ्घ लगायतको उपस्थिति रहेको थियो।