खोटाङ, फागुन २६ :

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने सबैभन्दा छोटो दूरीको सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका- ४ खाल्लेस्थित आहालेबाट हलेसी तुवाचुङ नगरपालिका- ११ राजापानीस्थित रेग्मीटारसम्मको १४ दशमलव पाँच किलोमिटर सडक निर्माणको काम अन्तिम चरणमा पुगेको हो ।

सडक निर्माण सम्पन्न भएपछि दिक्तेलबाट महुरे- बुइपा- विजयखर्क- राजापानी घुम्दै रेग्मीटार पुग्नुपर्ने बाध्यताको अन्त्य हुने नगरप्रमुख तीर्थराज भट्टराईले बताए ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले गौरवको आयोजनामा राखेर आर्थिक वर्ष २०७९-८० बाट उक्त सडक निर्माण सुरु गरेको हो । निर्माण हुन पाँच सय मिटरमात्र बाँकी छ ।

पूर्वी तराई जोड्ने यो सडक एक महिनाभित्र सम्पन्न गर्ने योजनामा रहेको उनले बताए । दिक्तेल- रेग्मीटार सडक निर्माणमा नगरपालिकाको ८५ लाख खर्च भइसकेको छ । यो सडकका लागि कोशी प्रदेश सरकारले यो आवका लागि ४० लाख बजेट उपलब्ध गराएको छ ।

नगरपालिका तथा प्रदेश सरकारको साझेदारीमा विनियोजित बजेटमार्फत दिक्तेल- खानीडाँडा- रेग्मीटार सडक निर्माणको कामलाई तीव्रगतिमा अगाडि बढाइएको खाल्लेका वडाध्यक्ष खगेन्द्र राईले जानकारी दिए । 

नगरपालिकाले गौरवको आयोजनामा राखेर दिक्तेल- खानीडाँडा- रेग्मीटार सडक निर्माणको कामलाई तीव्रता दिएपछि स्थानीयवासी समेत खुसी भएका छन् ।

दिक्तेल- रेग्मीटार सडकको मार्ग खोलिसकेपछि अर्को वर्षबाट सडक स्तरोन्नतिको कामलाई निरन्तरता दिइने नगर उपप्रमुख विशन राईले बताए ।