काठमाडौं, फागुन २६ :

आगामी वैशाख १२ गते प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘खेल’ को शीर्ष गीत सार्वजनिक गरिएको छ । यस गीतमा गीत रचना तथा स्वर ‘स्याम्मी डी रियल जी’ को स्वर रहेको छ भने सङ्गीतकार तथा सङ्गीत निर्माता सुरज ब्लुज हुन् । गीतको मिक्सिङ तथा मास्टरिङ भारतका अभिनव अग्निहोत्रीले गरेका छन् ।

गीतको भिडियोमा प्रमुख अभिनेत्रीहरू सुरक्षा पन्त, मोनिका थापा, हेना नगरकोटी, समापिका गौतम, निकिता आचार्यसँगै मिथिला शर्मा, भोलाराज सापकोटा, सरिता गिरी, किरण श्रेष्ठ, भावना घिमिरे, सुहानी खड्का क्षेत्रीलगायत कलाकार छन् । साथै, गायिका स्याम्मी डी रियल जी र बक्सर रश्मिला श्रेष्ठ विशेष रूपमा फिचर्ड छन् ।

चलचित्र ‘खेल’ लाई बलिउडका अनुभवी सह-निर्देशक अनुराग प्रधान र नेपालमा लामो समयदेखि सह-निर्देशन गर्दै आएका आस्था श्रेष्ठले संयुक्त रूपमा निर्देशन गरेका छन् । चलचित्रको कथा नेपाली लोककथा, परम्परा, अध्यात्म, थ्रिलर र सस्पेन्सको मिश्रणमा आधारित छ । अध्ययनका लागि काठमाडौंको होस्टेलमा बसेका ४ साथीको कथा चलचित्रले देखाउनेछ । जसलाई आफ्नै विगतको भयानक घटनाले पछ्याइरहेको हुन्छ ।

यो चलचित्र सिरुपाते कट्स प्रालिको ब्यानरमा निर्माण गरिएको हो । निर्माता आशिषराज महर्जन, कार्यकारी निर्माता लुइसराज महर्जन, सह-निर्माता कुनालराज गुरुङ र रहिशराज महर्जन छन् । चलचित्रको कथा आशिषराज महर्जनले लेखेका हुन् भने पटकथा अभितेन्द्र र अनुराग प्रधानले तयार पारेका छन् । संवाद विष्णु गैरेले लेखेका छन् ।

चलचित्रको छायाङ्कन रोशन राई र सञ्जय लामाले गरेका छन् भने सम्पादन आशिषराज महर्जनले गरेका छन् । ध्वनि डिजाइन विकल प्रधान, रङ संयोजन राजेन्द्र मोक्तान, प्रोडक्सन डिजाइन किशोर नेपाल, कस्ट्युम डिजाइन एलेक्स बसुकला, मेकअप दीपु पौडेलले गरेका छन् । प्रोडक्सन म्यानेजरको जिम्मेवारी यमप्रसाद ओलीले सम्हालेका छन् । चलचित्रको वितरण डीसीएनले गर्नेछ । पब्लिसिटी डिजाइन ट्राइडेन्ट कन्सेप्टले गरेको छ ।