
एकै स्थानमा विभिन्न एड्भेन्चर गतिविधि सञ्चालन गरेर पर्वत-बाग्लुङ क्षेत्रलाई सहासिक पर्यटकीय गन्तव्यका रुपमा चिनाउन सफल द क्लिफ आन्तरिक तथा बाह्य पर्यटक मात्र नभइ सेना तथा प्रहरीको तालिम केन्द्रसमेत बन्न सफल भएको छ ।
नेपाल प्रहरीको कमान्डो तालिमअन्तर्गत दशौं समूहमा तालिमरत प्रहरीहरुले कुश्मा स्थित द क्लिफमा आइतबार बन्जीजम्प गरेका छन् । तालिम संयोजक प्रहरी नायब उपरीक्षक गणेशबहादुर बरालको संयोजनमा क्लिफमा प्रहरीहरूलाई बन्जी गराइएको महाविद्यालयका प्राचार्य प्रहरी वरिष्ठ उपरीक्षक दीपशमशेर जबराले जानकारी दिए ।
‘भविष्यमा आइपर्ने जस्तोसुकै अवस्थाका लागि कमान्डोहरुलाई तयार गर्न साहसिक गतिविधिमा सम्लग्न गराइएको हो,’ जबरा थप्छन्, ‘नेपालमा मात्र नभइ विदेशमा समेत सेवा विस्तार गरिरहेको द क्लिफको प्रोफेसनल टिमका कारण केही वर्षदेखि निरन्तर द क्लिफसँग सहकार्य गर्दै आएका छौँ ।’
तालिमअन्तर्गत १ सय ६ प्रशिक्षार्थी प्रहरीले बन्जी जम्प गरेका छन् । नेपाल प्रहरीले तालिमरत प्रहरीलाई विभिन्न साहसिक खेलहरूमा सहभागी गराउँदै आएको छ । तालिमअन्तर्गत नै सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीकै विभिन्न समूहले यसअघि फरक-फरक समयमा द क्लिफमै बन्जी गरिसकेका छन् । क्लिफका अध्यक्ष राजु कार्कीले नेपाल प्रहरीको तालिमको हिस्सा बन्न पाउँदा खुसी भएको बताए ।
कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथि पर्वत र बागलुङ बलेवा जोड्ने गरी बनाइएको द क्लिफमा विश्वकै अग्लो स्विङ र विश्वकै दोस्रो अग्लो बन्जीजम्प सञ्चालन हुँदै आएको छ । बन्जी र स्विङसँगै क्लिफमा रहेको रिसोर्टमा लग्जरी कटेज रुममा आवास सुविधा पनि छ । इन्फिनिटी स्विमिङ पुल र कन्फ्रेन्स हल निर्माणाधीन छन् ।
क्लिफमा विश्वकै अग्लो व्यावसायिक स्काई साइक्लिङ, मेगा ट्रोल, स्काई क्याफे, वाल क्लाइम्बिङ, गुलेली पिङ, क्रेजी ब्रिज, स्काई ग्लाइडिङ, स्काई चियरलगायत गतिविधि सञ्चालनमा छन् ।
हेर्नुहोस् थप तस्बिर :