
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको निर्देशकमा डा. दिलीप शर्मा नियुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दुई वर्षे कार्यकालका लागि वीर अस्पतालको निर्देशकमा डा. शर्मालाई नियुक्त गरेको हो ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति प्रा.डा. भुपेन्द्रकुमार बस्नेतको संयोजकत्वमा गठित समितिको सिफारिसअनुसार डा. शर्मालाई उक्त पदमा सिफारिस गरेको थियो ।
न्याम्स ऐनअनुसार उपकुलपति डा. बस्नेतले आइतबार सहकुलपतिसमेत रहेका स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई डा. शर्मा, डा. समाज गौतम र डा.अनुपमा कार्कीको नाम सिफारिस गरेका थिए । गौतम र कार्कीलाई पछि पार्दै शर्मा निर्देशक बनेका हुन् । उनी नेकपा एमालेनिकट मानिन्छन् ।
प्रधानमन्त्री केपी ओलीको निजी चिकित्सकसमेत रहेका नवनियुक्त निर्देशक डा. शर्मा सोही अस्पतालका १०औं तहका कर्मचारीसमेत हुन् ।
वीरको निर्देशक डा. सन्तोष पौडेलको दुईवर्षे कार्यकाल गत ४ फागुनमा सकिएपछि डा. समाज गौतमले निमित्त निर्देशकको जिम्मेवारी सम्हालिरहेका थिए । डा. शर्माले यसअघि मेडिकल काउन्सिलको रजिस्ट्रार र चिकित्सा शिक्षा आयोगजस्ता निकायमा जिम्मेवारी बहन गरेका थिए ।
यो पनि…
स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकमा डा. रघुराज काफ्ले नियुक्त