सिरहा, फागुन २९ :

लहान नगरपालिका- ४ मा पाँच सय शय्याको मुटु र मधुमेह रोगको सुविधासम्पन्न अस्पताल बन्ने भएको छ । 

नेपाल हृदय रोग निवारण सङ्घद्वारा जर्मनीको ‘नेपाल मेड जर्मनी’ र ‘रोटरी क्लब कटुस’ नामक दुई अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको दुई अर्ब आर्थिक सहयोगमा निर्माण प्रक्रिया सुरु गरिएको अस्पतालका ‘कन्सल्टेन्ट फिजीसियन’ डा सञ्जयप्रसाद साहले जानकारी दिए ।

डा साहका अनुसार लहान नगरपालिकाले उपलब्ध गराएको ११ बिघा जग्गामा अस्पताल बन्ने छ भने यसको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ । आगामी पाँच वर्षभित्र अस्पताल निर्माण गरिसक्ने लक्ष्य रहेको उनले बताए ।

नगरपालिकाले उपलब्ध गराएको सार्वजनिक जग्गामा तत्काललाई दुईवटा भवन निर्माण गरी गत माघ ४ गतेबाट ओपिडी सेवा सञ्चालन गरिसकिएको छ, जसको सोमबार औपचारिक उद्घाटन भइसकेको छ । 

लहान नगरप्रमुख महेशप्रसाद चौधरी र विश्वप्रसिद्ध मुटु शल्यचिकित्सक डा कुमुद धितालले संयुक्त रूपमा उक्त नवनिर्मित भवनको उद्‌घाटन गरेका हुन् ।

उद्‌घाटन समारोहमा नगरप्रमुख चौधरीले लहानमा ‘कार्डियो र डाइवेटिक सेन्टर’ सञ्चालनमा आउनु लहानका लागि एउटा गौरवको आयोजना भएको बताए । 

अस्पताल बनिसकेपछि उपचारका लागि धरान, विराटनगर र काठमाडौँ जानुपर्ने बाध्यताबाट मुक्ति मिल्ने उनले बताए ।