काठमाडौँ, चैत १ :

प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन् ।

भैरहवाको सिद्धार्थनगर मैदानमा सुदूरपश्चिम प्रदेश र बागमतीले प्रतिस्पर्धा गर्दैछन् भने धनगढीको फाप्ला क्रिकेट मैदानमा सशस्त्र प्रहरी र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ। दुवै खेल बिहान ९ बजे सुरु हुने छन् ।

जारी प्रतियोगितामा आर्मीले तीन खेलमा तीन जित निकाल्दै ६ अंक बटुलेको छ । आर्मी तालिकाको शीर्ष स्थानमा छ । प्रहरीका दुवै विभागीय टिमले समेत दुईदुई खेलमा दुई जित निकाल्दै चार- चार अंक जोडेका छन् । 

रनरेटका आधारमा सशस्त्र दोस्रो र नेपाल पुलिस तेस्रो स्थानमा छन् । तीन खेल खेलिसकेको लुम्बिनीले एक खेल गुमाउँदै चार अंक जोड्दै तालिकाको चौथो स्थानमा छ ।

तीन खेल खेलिसकेका सुदूरपश्चिम, कर्णाली र गण्डकीले एक मात्र जित निकाल्दै दुई अंक मात्र जोडेका छन् भने दुई खेल खेलेको मधेशले एक हार र एक जितसहित दुई अंक बनाएको छ।

दुई खेल खेलिसक्दा बागमती अंकबिहीन छ भने तीन खेल खेलेको कोशी प्रदेशले पनि अंक जोड्न सकेको छैन ।