काठमाडौं, चैत ५ :

सहरी विकास मन्त्रालयले ०८२ वैशाख २४ गतेभित्र कीर्तिपुर क्रिकेट मैदानमा प्यारापेट निर्माण र फ्लडलाइट जडान कार्य सम्पन्न गर्ने जनाएको छ ।

मन्त्रालयमा मंगलबार पत्रकार सम्मेलन गर्दै वित्तीय प्रगति सार्वजनिक कार्यक्रममा यस्तो जानकारी गराइएको हो ।

‘संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयबाट कीर्तिपुर क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय मापदण्डअनुरूप प्यारापेट निर्माण र फ्लडलाइट जडान कार्यको २०८१ फागुनमा सम्झौता सम्पन्न भई २०८२ वैशाख २४ गतेभित्र कार्य सम्पन्न गर्ने गरी निर्माण अघि बढिरहेको छ,’ मन्त्रालयका प्रवक्ता एवं सहसचिव नारायण मैनालीले जानकारी दिए ।

त्यस्तै, मन्त्रालयले गत असोज ३ बाट धरहरा सञ्चालन भएपछि दुई करोड ३७ लाख बढी राजस्व संकलन गरेको पनि जनाएको छ । यो अवधिमा हालसम्म १ लाख ३० हजार भन्दा बढीले धरहरा भ्रमण गरेका छन् ।

मन्त्रालयका अनुसार यस्ता छन् अन्य भौतिक प्रगति : 
- राष्ट्रिय सहरी नीति स्वीकृत भएको छ ।
- स्थानीय पूर्वाधार विकास विभागबाट त्रिवेणी सुस्ता बहुत्तरी झोलुंगे पुल निर्माण कार्य सम्पन्न भई सञ्चालन ।
- झापास्थित दमक व्यापारिक कम्प्लेक्सको निर्माण सम्पन्न ।
- काठमाडौं उपत्यका विकास प्राधिकरणबाट सार्वजनिक जग्गा संरक्षणअन्तर्गत कीर्तिपुरमा चम्पादेवी पार्क र भैंसेपाटी प्लाजामा दुईवटा पार्क निर्माण सम्पन्न ।
- बागमती सुधार आयोजनाअन्तर्गत यस आ.व.मा २०० मिटर नदी तटबन्ध, ३५० मिटर सडक कालोपत्रे र १५० मिटर मुख्य ढल निर्माण ।
- नगर विकास कोषबाट सहरी खानीपानी सरसफाइ आयोजनाअन्तर्गत ११ वटा आयोजना निर्माण सम्पन्न भएको र १६ वटा आयोजना स्तरोन्नति ।
- सहरी उत्थान तथा जीविकोपार्जन सुधार आयोजनाअन्तर्गत नगरपालिकाहरुको समावेशी आर्थिक वृद्धि र जीवनयापनमा सुधार ल्याउने गरी एसियाली विकास बैंकसँग सम्झौता भई पोखरा, जनकपुर, देवदह, सैनामैना, लुम्बिनी सांस्कृतिक, सिद्धार्थनगर र तिलोत्तमा नगरपालिकामा कार्यक्रम अघि बढेको ।