
आधारभूत शिक्षा परीक्षा (कक्षा ८) को वार्षिक परीक्षामा काठमाडौँ महानगरपालिकाभित्र यस वर्षदेखि परीक्षा केन्द्र अध्ययन गरिरहेको विद्यालयबाट अन्य विद्यालयमा सारिएको छ ।
गएको वर्षसम्म विद्यालयभित्रै सञ्चालन भइरहेको परीक्षा यस वर्षदेखि विद्यालय बाहिरको परीक्षा केन्द्रबाट लिन थालिएको हो । २०८१ फागुन २६ गते बसेको परीक्षा समितिको बैठकले होम सेन्टर नपर्ने गरी ५६ वटा परीक्षा केन्द्र कायम गरेर विद्यालयबाट परीक्षा केन्द्र बाहिर ल्याएको निर्णय गरेको थियो ।
कक्षा ८ को परिक्षामा सामुदायिक र संस्थागतबाट १८ हजार २९४ जना विद्यार्थी सहभागी भएका छन् ।
यस्तै संस्थागत विद्यालयका कक्षा ८ का विद्यार्थीहरुको वार्षिक परीक्षासमेत महानगरपालिकाबाटै सञ्चालन, व्यवस्थापन र प्रमाणीकरण गर्ने गरी कार्यक्रम अगाडि बढाइएको छ ।
केन्द्रहरुमा सञ्चालन भएको परीक्षाको मर्यादाको अनुगमनका लागि शिक्षा विभागले अधिकारीहरु खटाएको छ । केन्द्रीय वहिरा माध्यमिक विद्यालय र कारागारभित्रका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीलाई आफ्नै विद्यालयबाट परीक्षा लिइएको छ ।
यस्तै अटिजम, बौद्धिक अपाङ्गता, डाउन सिन्ड्रोम लगायत अवस्था भएका विशेष प्रकृतिका विद्यार्थीहरुलाई पनि विद्यालयबाटै परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । दृष्टिविहिन, बहिरा, सुस्त श्रवण, मनोसामाजिक अपाङ्गता भएका विद्यार्थीका लागि उनीहरुले बुझ्ने सांकेतिक भाषामा परीक्षा दिने व्यवस्था मिलाइएको छ । यस्ता विद्यार्थीले निर्धारित समयभित्र परीक्षा दिन नसक्ने देखिएमा केन्द्राध्यक्षले वा सम्बन्धित विद्यालयले बढीमा एक घण्टा तीस मिनेटसम्म थप समय उपलब्ध गराउन सक्ने अधिकार दिएर परीक्षा सञ्चालन गरिएको छ ।
परीक्षा समितिका अध्यक्ष एवं निमित्त शिक्षा अधिकारी केवश ज्ञवालीका अनुसार विदेशी विद्यार्थीलाई सट्टा विषयमा परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । विद्यार्थी वा अभिभावकले अनुरोध गरेमा सट्टा विषयमा परीक्षा दिन पाउने व्यवस्था गरिएको हो ।
उनीहरुले अनिवार्य नेपाली विषयको सट्टा इलेक्टिभ इङ्लिस र नेपाल भाषाको सट्टामा अप्सनल इङ्लिस वा विद्यार्थीले छानेको विषयमा परीक्षा दिनेछन् । यसका लागि सम्बन्धित विद्यालयले प्रश्नपत्र तयार गर्ने र आफैँ परीक्षा सञ्चालन तथा व्यवस्थापन गर्नेछन् । उत्तरपुस्तिका सम्बन्धित विद्यालयका शिक्षकले नै परीक्षण गरेर परीक्षण केन्द्रमा बुझाउनेछन् ।