
दक्षिण कोरियाली संवैधानिक अदालतले महाभियोगमा परेका कार्यवाहक राष्ट्रपति हान डक सुलाई पदमा पुनर्बहाली गरेको छ ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार, दक्षिण कोरियाली संसद्ले महाभियोग लगाएका कार्यवाहक राष्ट्रपति हान डक सुलाई सोमबार अदालतले पदमा फर्काएको हो ।
गत डिसेम्बरमा, राष्ट्रपति युन सुक योलले सैनिक शासन लागू गर्ने प्रयास गरेको भन्दै संसद्ले उनलाई महाभियोगको प्रक्रिया सुरु गरेको थियो। त्यसपछि, हान डक सु तत्कालिन प्रधानमन्त्रीको हैसियतमा कार्यवाहक राष्ट्रपति बनेका थिए ।
तर, राष्ट्रपति योल विरुद्धको महाभियोग प्रक्रिया अदालतमा अघि बढाउन रोकेको भन्दै संसद्ले हान डक सुतर्फ पनि महाभियोगको प्रक्रिया सुरु गरेको थियो।
सोमबार, संवैधानिक अदालतको बहुमत निर्णयसँगै हान डक सु पुनः राष्ट्रपति पदको जिम्मेवारीमा फर्किएका छन्। अदालतको निर्णयपछि, हानले धन्यवाद ज्ञापन गर्दै, निलम्बनको अवधिमा मन्त्रीहरूले कठिन परिश्रम गरेर काम गरेको बताएका छन् ।
उनले बदलिँदो विश्व परिस्थितिमा दक्षिण कोरियालाई निरन्तर प्रगति र विकासको बाटोमा लैजानका लागि अब सबै मिलेर काम गर्नपर्ने बताए ।
यसैबीच, राष्ट्रपति युनको महाभियोग प्रक्रिया भने अझै संवैधानिक अदालतमा विचाराधीन छ। यसमा पनि अब केही दिन भित्र अदालतको निर्णय आउने अपेक्षा गरिएको छ ।