जेनेभा, चैत १२ :

युएनएड्स प्रमुखले अमेरिकी विदेशी सहायता कोषको अचानक रोकावट ‘विनाशकारी’ भएको बताएका छन् ।

उनले थप कोष बिना लाखौँ मानिस मर्ने र विश्वव्यापी एड्स महामारी पुनः फैलिने चेतावनी दिएका छन् ।

संयुक्त राज्य अमेरिका ऐतिहासिक रूपमा मानवीय सहायताको विश्वकै सबैभन्दा ठूलो दाता रहेको तर राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई महिनाअघि ह्वाइट हाउस फर्केपछि अन्तर्राष्ट्रिय सहायता कटौती गरेका थिए ।

संयुक्त राज्य अमेरिकाले समय- समयमा आफ्नो कोष घटाउन चाहनु उचित भएपनि जीवन बचाउने समर्थनको अचानक फिर्ताले विनाशकारी प्रभाव पारिरहेको युएनएड्सकी कार्यकारी निर्देशक विनी ब्यान्यिमाले जेनेभामा पत्रकारहरूलाई भनेकी छिन् । उनले पुनर्विचार र जीवन रक्षा गर्ने सेवाहरूको आकस्मिक पुनःस्थापनाका लागि आग्रह समेत गरेकी छिन् ।

उनले थप कोष बिना आगामी चार वर्षमा थप ६३ लाख एड्स- सम्बन्धित मृत्यु हुने चेतावनी दिइन् ।

आगामी चार वर्षमा यदि सहायता कोष पुनःस्थापित नभएमा लामो अवधिमा एड्स महामारी पुनः फैलिएको र विश्वव्यापी रूपमा पुनः फैलिने उनको भनाइ छ ।