
चलचित्र ‘डोरी’ आज (शुक्रबार) बाट नेपालभरका हलमा प्रदर्शनमा आएको छ ।
देशभर करिब १२० शोसहित यो चलचित्र रिलिज भएको हो । नेपाली चलचित्रको लागि प्रमुख बजार रहेको काठमाडौं उपत्यकामा विभिन्न आन्दोलनका कारण नयाँ रिलिज र प्रदर्शनरत कुनै पनि चलचित्रका लागि उत्साहजनक बुकिङ भने देखिएको छैन । आन्दोलनका कार्यक्रमहरू सकिएपछि साँझतिरका शो हरूमा चलचित्र हेर्न दर्शक हल पुग्ने अपेक्षा गरिएको छ ।
‘डोरी’ लाई केन्द्रीय चलचित्र जाँच पास समितिले ‘पिजी’ प्रमाणपत्र प्रदान गरेको छ । जस कारण यो चलचित्र १६ वर्षमुनिका बालबालिकाले अभिभावकका साथमा मात्र हेर्न पाउनेछन् । चलचित्रका निर्देशक अरुण लामाले सामाजिक कथामा हास्य रस, थ्रिल र हररलाई मिश्रण गरी ‘डोरी’ तयार भएको बताए । लामाले चलचित्रको कथावस्तु सबैको जीवनसँग कुनै न कुनै रूपमा मेल खाने भएकाले दर्शकले यसमा अपनत्व महसुस गर्ने विश्वास व्यक्त गरे ।
‘डोरी’को लेखन तथा निर्देशन अरुण लामाले गरेका हुन् । चलचित्रमा अरुण आफैँले प्रमुख भूमिका निभाएका छन् भने प्रवीण खतिवडा, शिशिर बाङ्देल, प्रकाश घिमिरे, अञ्जना बराइली, राज पौडेल, कविता आले, नूतन, राज थापा, वीरेन्द्रसिंह कुशवाह, शारदा अधिकारी, प्रेम सुब्बा, सजन श्रेष्ठ, रामबाबु रेग्मीलगायत कलाकारको अभिनय छ ।
चलचित्रका निर्माता दिनेश भट्टराई हुन् भने कार्यकारी निर्माता राज थापा रहेका छन् । चलचित्रको स्क्रिप्ट मनोज पण्डितले लेखेका हुन् । मुख्य सहायक निर्देशक दिनेशबहादुर रावत, एक्सन निर्देशक राजु तामाङ, सङ्गीत निर्देशक राजनराज शिवाकोटी, छायाङ्कन निर्देशक सौरभ लामा, कला निर्देशक रोशन दिवाना, सम्पादक मिलन श्रेष्ठ, रङ संयोजक रेनिश फागो छन् ।