काठमाडौँ, भदौ ११ :

राष्ट्रपति रामचन्द्र पौडेलले श्रीकृष्ण जन्माष्टमी पर्वले समाजलाई भावनात्मक एकताको सूत्रमा आबद्ध गरी धार्मिक सहिष्णुता तथा आपसी सद्भाव कायम गर्दै सत्कर्मका लागि प्रेरित गर्न सहयोग पुर्‍याउने बताउनुभएको छ ।

आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले यस पर्वले सम्पूर्ण नेपालीमा आपसी सद्भाव, करुणा र मैत्री भावना अभिवृद्धि गर्दै सभ्य र सुसंस्कृत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।

आज विश्वभर हिन्दु धर्मावलम्बीहरूले भक्तियोग, ज्ञानयोग र कर्मयोगका प्रणेता भगवान् श्रीकृष्णको पूजाअर्चना गरी धुमधामका साथ श्रीकृष्ण जन्माष्टमी पर्व मनाउँदै छन् ।