
जिल्ला अदालत काठमाडौंले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणालगायत ११ जनालाई पाँच दिन थुनामा राख्न अनुमति दिएको छ ।
राज्यविरुद्धको अपराधको आरोपमा उनीहरुलाई म्याद थप गर्न काठमाडौं जिल्ला अदालतमा आइतबार उपस्थित गराइएको थियो । उनीहरुमाथि काठमाडौंको तीनकुनेमा शुक्रबार आन्दोलनकारीहरुलाई उक्साएर दुई जनाको ज्यानै जानेगरी आपराधिक घटना गराएको आरोप लागेको छ । अदालतले दिएको अनुमति अनुसार प्रहरीले अब उनीहरुलाई मंगलबारसम्म थुनामा राख्न पाउनेछ ।
अदालत लैजाँदा राणाबाहेक सबैलाई हतकडी लगाइएको थियो । प्रहरीले म्याद थपका लागि अदालततर्फ लैजाँदै गर्दा वरिष्ठ उपाध्यक्ष मिश्रको एक हातमा हतकडी देखिन्थ्यो भने अर्को हातले आफ्ना समर्थकलाई अभिवादन गरिरहेका थिए ।
तीनकुने घटनामा प्रहरीले १११ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ । प्रदर्शनका कमान्डर दुर्गा प्रसाईंलगायत केही अझै फरार छन् । प्रसाईंले आइतबार सामाजिक सञ्जालमार्फत एक भिडियोमार्फत आफू सुरक्षाका कारण काठमाडौंको कुनै मन्दिरमा रहेको भन्दै फरार नभएको बताएका छन् ।
हेर्नुहोस् प्रसाईंले प्रहरीसँग माफी माग्दै सार्वजनिक गरेको भिडियो :