कास्की  , भदौ १२ :

अन्नपूर्ण पदमार्ग अन्तर्गत कास्कीको प्रसिद्ध पर्यटकीयस्थल घोरेपानी पदयात्राका क्रममा दुई जना स्पेनिस पर्यटक बेपत्ता भएका छन् । 

कास्कीको अन्नपूर्ण गाउँपालिका- ९ तिखेढुङ्गाबाट आइतबार उल्लेरी हुँदै घोरेपानी जाने क्रममा स्पेनिस नागरिक इरिक कासानोभास (पुरुष) र मोलास जुन्का मेसी (महिला) सम्पर्कविहीन भएको अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङले जानकारी दिनुभयो ।

भुरुङदी खोलाको पुल नजिक पर्यटकका दुई  झोला आइतबार साँझ बाटोमा बेवारिसे अवस्थामा भेटिएपछि सोमबार दिनभर खोजी गरेपनि अवस्था पत्ता लाग्न नसकेको उहाँले बताउनुभयो । पर्यटकलाई भुरुङदी खोलाले बगाएको हुन सक्ने आशङ्का गरिएको छ । 

एक्याप बिरेठाँटी चेकपोष्टका प्रमुख यामबहादुर गुरुङले आइतबार बिहान पर्यटकले कार्यालयमा नाम दर्ता गराएको जानकारी दिनुभयो। उहाँले बाटोमा झोला राखेर छहरामा फोटो खिच्ने क्रममा खोलामा खसेर बेपत्ता भएको हुन सक्ने आशंकाले दिनभर खोजी गरिएको बताउनुभयो ।

प्रहरी, जनप्रतिनिधि तथा स्थानीयवासी सहित  खोज्ने क्रममा छहरामा दुई वटा स्टिक (लौरी) भेटिएको छ । 

आज गोताखोरसहितको टोलीले खोलामा खोजी गरिने गुरुङले जानकारी दिनुभयो । पर्यटक हराएको जानकारी दूतावासलाई गराइ सकिएको पनि प्रवक्ता गुरुङले बताउनुभयो ।