तेह्रथुम, चैत २७ :

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले पर्यटनको क्षेत्रमा धेरै सम्भावना रहेको भन्दै नेपालको अर्थतन्त्र चलायमान बनाउन पर्यटन क्षेत्रले टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

कोसी प्रदेश पर्यटन वर्ष २०८२ घोषणा सभामा बुधबार उनले सांस्कृति विविधता, साहसिक खेल पर्यटनलगायत प्रचुर सम्भावना रहेको भन्दै कोसी प्रदेश पर्यटन वर्ष सिँगै देशको अर्थतन्त्रमा योगदान पुग्ने विश्वास व्यक्त गरे । उनले भारत र चीन दुवै छिमेकी देशसँग जोडिएको कोसी प्रदेश पर्यटकीय सम्भावनाको हिसाबले अत्यन्त सम्भावना बोकेको प्रदेश रहेको भन्दै पर्यटन वर्ष सफलताको शुभकामना दिए ।

‘कोसी प्रदेश छिमेकी देश भारत र चीनसँग जोडिएको प्रदेश हो । विश्वकै अग्लो सगरमाथादेखि होचो कचनाकवलसम्म पर्ने यो प्रदेश हेर्न लायकको छ । पर्यटन वर्ष मनाउँदा प्रदेशको सांस्कृतिक विधिता झल्काउने, साहसिक खेलकूदका गतिविधि गर्न आवश्यक छ,’ उनले भने, ‘पर्यटन वर्षमा पर्यटनमा आधारित भएर हुने गतिविधिले कोसी प्रदेशको मात्र होइन देशकै अर्थतन्त्रमा आएको शिथिलता चलायमान बनाउन यसले पर्याप्त मात्रमा टेवा पुर्याउने र  योगदान गर्ने विश्वास लिएको छु ।’

त्यस्तै उनले २८ प्रकारको लालीगुराँस एकै ठाउँमा पाइने स्थलसम्म यहाँ रहेको भन्दै त्यसको प्रचार गर्न सके पर्यटकका लागि आकर्षण बन्न सक्ने बताए । ‘आफूसँग भएको साधन-स्रोतलाई परिचालन गरेर अझ राम्रो गर्न पर्यटन वर्ष प्रारम्भ भएको छ । कोसी प्रदेशले प्रारम्भ गरेको पर्यटन वर्ष अरु प्रदेशका लागि पनि नमुनाका रुपमा रहनेछ,’ सिंहले भने, ‘अरु प्रदेशलाई पनि पर्यटनका गतिविधि गर्न मार्गदर्शन गर्नेछ ।’