काठमाडौं, चैत २९ :

फ्राइडे रिलिजमा आज (शुक्रबार) बाट चलचित्र ‘कर्मा’ प्रदर्शनमा आएको छ ।

‘अगस्त्य : च्याप्टर १’ निर्देशन गरेर चर्चा कमाएका निर्देशक सौरभ चौधरीद्वारा निर्देशित एक्सन जनराको ‘कर्मा’ एकसाथ देशव्यापी रुपमा प्रदर्शनमा आएको हो ।

नयाँ वर्ष २०८२ को छेको पारेर प्रदर्शनमा आएको चलचित्र ‘कर्मा’ काठमाडौं र मोफसलका हल गरेर करिब १५० शोमा प्रदर्शन भइरहेको छ ।

चलचित्रले एक्सन, ड्रामा र सस्पेन्सको सम्मिश्रणमार्फत दर्शकलाई मनोरञ्जन दिने प्रयास गरेको छ । जसले दर्शकलाई प्रारम्भदेखि अन्त्यसम्म बाँधेर राख्न सफल हुने विश्वास निर्माणपक्षको रहेको छ ।

‘कर्मा’मा विपिन कार्की, उपासनासिंह ठकुरी, मुकुन भुसाल, दिव्यदेव, सरिता गिरी, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालगायतको अभिनय छ ।

‘कर्मा’ को कथा निर्देशक चौधरी आफैँले लेखेका हुन् । चलचित्रमा भाष्कर स्वाँरको संगीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन छ ।

तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको सिनेमामा समीर मियाको भीएफएक्स, उत्तम न्यौपानेको ब्याकग्राउन्ड स्कोर, साहिल खानको टिजर-ट्रेलर, विजय बस्यालको पब्लिसिटी डिजाइन र राजेन्द्र मोक्तान कलरिस्ट छन् ।

आर्टिस्टिक इन्टरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’ मा वसन्त लम्सालको लगानी छ । दर्शक र समीक्षकको सकारात्मक प्रतिक्रिया बटुल्ने अपेक्षासहित हलमा आएको ‘कर्मा’ नेपाली एक्सन सिनेमामा नयाँ स्वाद दिन सक्ने विश्वास गरिएको छ ।