म्याग्दी, भदौ १३ :

धवलागिरि हिमशृङ्खलाको मानापाथी हिमालबाट मङ्गलबार साँझ खसेको हिमपहिरोले पूर्ण रूपमा थुनिएको मुस्ताङको थासाङ गाउँपालिकामा रहेको बोक्सीखोला बग्न थालेको छ ।

मुस्ताङको थासाङ गाउँपालिका- २ स्थित मूलखर्कबाट बोक्सीखोला क्षेत्रमा हिउँपहिरोले थुनिएको खोला करिब १३ घण्टापछि आज बिहानदेखि बग्न थालेको हो । 

थासाङ- २ का वडाध्यक्षसमेत रहनुभएका गाउँ कार्यपालिकाका प्रवक्ता गौतम शेरचनले बुधवार बिहानदेखि थुनिएको ठाउँबाट खोला बग्न थालेको जानकारी दिनुभयो।

खोँचमा थुप्रिएको हिउँलाई खोलाको पानीले पगालेर विस्तारै बग्न थालेको शेरचनले बताउनुभयो । तटीय क्षेत्रका नौवटा घरलाई राति सुरक्षित ठाउँमा सारिएको थियो । 

पाखो र खोला किनारमा थुप्रिएको हिउँ पहिरोले मानवीय र भौतिक क्षति नगरेको थासाङ गाउँपालिका- २ का वडा सदस्य भीमप्रसाद थकालीले बताउनुभयो । 

बोक्सीखोलाको मूलखर्कदेखि तल करिब एक किलोमिटरसम्म हिउँपहिरो थुप्रिएको छ । सो ठाउँमा यही भदौ ७ गते दिउँसो पनि हिउँ पहिरो खसेको थियो । हिउँ पहिरोले थुनिएको बोक्सीखोला तीन घण्टापछि बग्न थालेको थियो । यसअघिकै हिउँको थुप्रो पग्लिएर नसकिँदै पुनः पहिरो आएर हिउँ थपिएको हो ।

आसपासमा बस्ती नभए पनि बेनी–जोमसोम सडक बोक्सीखोलामा पर्दछ । 

यसअघि वि. सं २०७८ कात्तिक २८ र फागुन २१ गते थासाङ गाउँपालिका- २ कोवाङमा टुकुचे हिमालबाट आएको हिमपहिरोले एक सय ५० भन्दा बढी चौँरीगाई मरेका थिए । पछिल्लो हिउँपहिरोबाट मानवीय र पशुधनको क्षति भने नभएको जिल्ला प्रशासन मुस्ताङले जनाएको छ ।