
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका- २ ऐना पहरास्थित मर्स्याङ्दी नदीमा गत शुक्रबार भएको बस दुर्घटनामा बेपत्ता एकजना अझै फेला पर्न सकेका छैनन् ।
पोखराबाट काठमाडौँ आँउदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दीमा खस्दा बेपत्ता भएका २२ वर्षीय गोकर्णी सन्दीप सरोदे मङ्गलबारसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिनुभयो ।
दुर्घटनामा २७ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए । बेपत्ता भएका सरोदेको खोजी भइरहे पनि फेला पार्न नसकेको प्रहरीले जनाएको छ ।
सोमबार नदीमा खसेको बस निकाल्ने क्रममा बसले च्यापिएको अवस्थामा छ कि भन्ने आशङ्का रहे पनि उनी फेला नपरेको प्रहरीको भनाइ छ ।
बेपत्ता भएका सरोदेका बुबाआमाको सोही दुर्घटनामा परी मृत्यु भएको छ ।
प्रहरीले गत सोमबार आठ घण्टाको प्रयासमा नदीबाट बस निकालेर सडक नजिक ल्याएको छ।