रामेछाप , भदौ १३ :

दोरम्बा शैलुङ गाउँपालिका- ३ लेखर्कमा गएको पहिरोमा परी मृत्यु हुनेहरूको सङ्ख्या आठ पुगेको छ । 

आइतबार बिहान गएको पहिरोमा परी चार घर बगाउँदा हराइरहेका १० मध्ये मङ्गलबारसम्म आठ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रदीपकुमार सिंहले जानकारी दिनुभयो।
 
मङ्गलबार एक महिलाको बायाँ गोडाको पैतालाको भागमात्र भेटिएपछि हराइरहेका आफन्तसँग अनुसन्धान गर्दा नङ पालिस लगाएको बाङ्गो औलाका आधारमा आफ्नी हराइरहेकी श्रीमती बिन्दा पहरी भएको उनका श्रीमान् कुमार पहरीले स्वीकार गरेपछि सनाखत गरी परिवारको जिम्मा लगाइएको उहाँले बताउनुभयो ।

गत शनिबार राति परेको अविरल वर्षाका कारण सो गाउँपालिकाको वडा नं ३ लेखर्कमा पहिरोमा परेर ११ जना बेपत्ता भएका थिए । बेपत्तामध्ये एक जनालाई जीवितै उद्धार गरिएको थियो भने छ जनाको शव सोही दिन नै निकालिएको थियो । 

उक्त पहिरोमा परी सोही वडाका ५५ वर्षीय काले पहरी र ५० वर्षीय झ्याइपुरी पहरी अझै बेपत्ता छन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

पहिरोमा परी ३० वर्षीया चण्डिका श्रेष्ठ, उनका १८ महिनाका छोरा आयुष श्रेष्ठ, सोही वडाका ५७ वर्षीया उर्मिला पहरी, ३० वर्षीय सन्दीप पहरी, ११ वर्षीय सन्तोष पहरी, १४ वर्षीय विज्ञान पहरीको शव आइतबार नै फेला पारी परीक्षण पश्चात् परिवारलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कौशल न्यौपानेले जानकारी दिनुभयो ।