
काठमाडौं,साउन १३: निलम्बित हुनुभएका मुख्यसचिव बैकुण्ठ अर्याल आफूविरुद्धको भ्रष्टाचार मुद्दामा बयान दिन विशेष अदालतमा उपस्थित हुनुभएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको ३५ दिनपछि उहा विशेष अदालतमा उपस्थित हुनुभएको हो ।
आइतबार अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरु रामबहादुर थापा र रितेन्द्र थापाको इजलासमा उहाले बयान दिनुहुनेछ । बयान दिएपछि उहालाई थुनामा पठाउने, धरौटीमा वा साधारण तारिखमा रिहा गर्नेबारे आदेश हुनेछ ।
अर्यालमाथि निजी क्षेत्रको अन्तशुल्क स्टिकर छाप्न सुरक्षण मुद्रण केन्द्रलाई ठेक्का दिँदा भ्रष्टाचार गरेको आरोप लागेको थियो । भ्रष्टाचार मुद्दा दायर भएपछि उहालाई राष्ट्रिय योजना आयोगमा विशेष पद स्थापना गरी सरुवा गरिएको थियो ।