काठमाडौं, वैशाख ३ :

चलचित्र ‘मैना’ निर्माणको घोषणा गरिएको छ । राजेन्द्र ढकाल (राहुल) ले चलचित्र ‘मैना’ निर्माणको घोषणा गरेका हुन् ।

चलचित्रको थिम पोस्टर सार्वजनिक गरिएको छ । थिम पोस्टरले क्राइम थ्रिलर सिनेमाको संकेत गरेको छ ।

यस चलचित्रलाई चन्द्रकुमार भट्टराईले निर्देशन गर्नेछन् । यो उनको डेब्यु निर्देशकीय सिनेमा हो ।

भट्टराईले यसअघि समर लभ, मारुनी, राजा-रानी, सेतो बाघलागायत एक दर्जन सिनेमामा मुख्य सहायक निर्देशनका रुपमा काम गरिसकेका छन् ।

सुस्मिता फिल्मसको प्रस्तुति रहने चलचित्रको कथा गोविन्द मल्लले लेखेका छन् । चलचित्रमा राजेन्द्र ढकाल (राहुल) र विनीता शर्माको लगानी रहनेछ । सहनिर्मातामा रेनु शर्मा र सुस्मा खतिवडा रहनेछन् ।

थिम पोस्टरले शान्त समाजभित्र अचानक आउने उथलपुथलमा आधारित कथा रहने संकेत गरेको छ । चलचित्रको छायांकन भदौबाट सुरु गरिने निर्माणपक्षले जानकारी गराएको छ ।

चलचित्रमा को-को कलाकार रहनेछन् भन्ने निर्माणपक्षले खुलाएको छैन । निर्देशक भट्टराईले केही समयपछि कलाकारबारे जानकारी दिने बताए ।

सिनेमाको नामअनुसार, चलचित्रको मुख्य भूमिकामा महिला कलाकार रहने अनुमान छ । यद्यपि, यसबारे निर्माणपक्षले मुख खोलेको छैन । चलचित्र कहिले रिलिज हुने यसबारे पनि निर्माणपक्षले केही समयपछि जानकारी दिने निर्देशक भट्टराईले बताए ।