काठमाडौं, वैशाख ६ :


पर्यटनलाई मुलुकको अर्थतन्त्रको आधारशिला मानिन्छ । विश्वभर आठ हजार मिटरभन्दा अग्ला हिमाल १४ वटा रहेकामा नेपालमा मात्रै सगरमाथासहित आठवटा छन् । त्यसमध्ये एक हो, सगरमाथा । विश्वसामु नेपाल सर्वोच्च शिखर सगरमाथाको देश भनेर चिनिन्छ । यिनै गगनचुम्बी हिमालहरू नेपाली पर्यटनको प्रमुख आधार बनेका छन् । अग्ला हिमालका कारण पर्वतीय पर्यटनका लागि नेपाल आउने पर्यटकको संख्या अधिक छ । हिमाल हेर्न र आरोहणकै लागि बर्सेनि लाखौं रूपैयाँ खर्चिएर विदेशीहरू नेपाल आउने गरेका छन् ।

बर्सेनि हजारौं विदेशी पर्यटक हिमाल आरोहण गर्न नेपाल आउँछन् । हिमालको पर्यटन बेचेर नेपालले विदेशी मुद्रा आर्जन गरिरहेको छ । सेताम्मे हिमाल आरोहणका लागि मात्रै होइन, हेरेरै मनोरञ्जन गर्न पनि पर्यटकहरू नेपाल आउँछन् ।

सगरमाथा आरोहणका लागि मात्रै बर्सेनि तीन सयभन्दा बढी स्वदेशी-विदेशी आरोही पुग्छन् । अन्य हिमाल आरोहण गर्ने आरोहीको संख्या पनि उत्तिकै छ । नेपालमा रहेका साना-ठुला हिमालमध्ये तीन सयभन्दा बढी हिमाल आरोहणका लागि खुला गरिएको छ ।

आवश्यकताअनुसार आरोहणका लागि नयाँ हिमालहरू खुलाउने क्रम जारी छ । नेपालमा हरेक वर्ष तीन हजारभन्दा बढीले हिमाल आरोहण गर्छन् । जसबाट वार्षिक पौने एक अर्ब हाराहारी रोयल्टी संकलन हुन्छ ।

पछिल्ला समय भर्जिन (नयाँ) हिमाल चढ्न पर्यटकको रूचि बढेको देखिन्छ । नयाँ हिमाल आरोहणका लागि जाँदा बाटो फिक्सिङ गर्ने (आफैं बनाउनुपर्ने) भएकाले पर्यटकको रूचि बढेको देखिन्छ । हिमाल पर्यटन मात्र हैन, नेपालका हरेक ठाउँलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिन्छ र त्यसको सम्भावना पनि छ । यसले पर्यटकको बसाइँ अवधि लम्बाउन मद्दत गर्छ ।

पछिल्ला तथ्यांकअनुसार पर्यटकको बसाइँ अवधि सरदर १३ दिन छ । पर्यटकको बसाइँ अवधि लम्बाउन सके मुलुकलाई ठुलो सहयोग पुग्छ । अवधि लम्ब्याउन सबैभन्दा पहिले पर्यटकका लागि मनोरञ्जनका गतिविधिहरू बढाउनुपर्छ । अहिले धेरैजसो पर्यटकहरू एकल उद्देश्य लिएर आइरहेका छन् । नेपाल आइसकेपछि धार्मिक, पर्वतारोहण, पदयात्रालगायतमा छरिन्छन् । जहाँ जाने हो, उद्देश्य पूरा गरेर फर्कन्छन् ।

हिमाल चढ्ने पर्यटकलाई जलयात्रा कसरी गराउने या पशुपति जाने पर्यटकलाई लुम्बिनी लैजाने, पर्वतारोहणमा गएकालाई पोखरा घुम्न कसरी पु¥याउनेलगायतमा ध्यान दिनुपर्छ । यसका लागि पर्यटकको रुचि के हो, कस्ता पर्यटक आइरहेका छन् भन्ने बारेमा थाहा पाउनुपर्छ । आवश्यक परे सर्वेक्षण पनि गर्नुपर्छ । निजी क्षेत्रसँग मिलेर पर्यटकका लागि विकल्पहरू खोज्नुपर्छ । त्यसपछि मात्र एउटा प्रयोजनका लागि आएका पर्यटक अरू प्रयोजनमा घुमाउन सकिन्छ र बसाइ अवधि लम्बिन्छ । यसो गर्दा पर्यटकले गर्ने खर्च पनि स्वतः बढ्न जान्छ ।

एकीकृत पर्यावरण पूर्वाधारको आवश्यकता
पर्यटन विस्तारका लागि चारवटा विषयलाई प्राथामिकतामा राख्नुपर्छ । पहिलो, पूर्वाधार नै हो । छिटो-छरितो र सहज रूपमा यात्रा गर्न पाउनुपर्छ । नेपालमा हरेक दिन यातायात (ट्रान्सपोर्टेसन) को मूल्य बढ्दै गयो भन्ने पर्यटकको गुनासो सुनिन्छ । ट्रान्सपोर्टेसनलाई सहज र सस्तो बनाउन जरुरी छ ।

दोस्रो भनेको ‘हस्पिटालिटी’ हो । नेपालमा हस्पिटालिटी पनि सहर केन्द्रित छन् । काठमाडौंमा जसरी होटेलका संख्यामा वृद्धि भइरहेका छन्, अरू क्षेत्रमा कम छ । कतिपय प्रदेशमा सुविधासम्पन्न होटेल नै छैनन् । होटेललाई हरेक क्षेत्रमा लैजानुपर्छ । डिजिटल करेन्सीको सुविधा दिनुपर्छ ।

तेस्रो, कनेक्टिभिटी र रेगुलारिटीको सुनिश्चितता हुनुपर्छ र अर्को स्थानीय संस्कृतिलाई अझैं देखाउन जरूरी छ । पछिल्लो समय पुराना संस्कृतिहरू लोप हुँदै गएका छन् । कतिपय ठाउँमा विशेषखाले नाच तथा संस्कृतिहरू देखाइरहेका छन् । हामी सबैले आफ्नो संस्कृति देखाउन सकेमा दीर्घकालीन रूपमा पर्यटन प्रवर्धनमा सघाउ पुग्छ ।

मध्यकालमा बनेका सम्पदाहरू हेर्न आउने पर्यटकहरू अब कुन सम्पदा हेर्न आउने त ? यसमा पनि लगानी आवश्यक छ । नेपाल आउने धेरै पर्यटकहरू सम्पदा र संस्कृति अवलोकनकै लागि आउँछन् । उनीहरूलाई तान्न सक्ने अरू क्षेत्र पनि छन् भनेर नयाँ-नयाँ क्षेत्रमा थप लगानीको खाँचो छ ।

सम्पदा, संस्कृति र सभ्यतामा लगानी भएपछि बल्ल दिगो पर्यटन हुन्छ । यसका साथै राष्ट्रिय निकुञ्जमा थप विकास गर्नुपर्ने देखिन्छ । निकुञ्जभित्र ‘बोटानिकल गार्डेन’ को आवश्यकता छ । मुलुकमा एक दर्जन राष्ट्रिय निकुञ्ज छन् तर, निकुञ्जमा बोटानिकल गार्डेन छैनन् । राष्ट्रिय निकुञ्जभित्रै बोटानिकल गार्डेन भएन भने पर्यटक आएर के अनुसन्धान (रिसर्च) गर्छ ?

राष्ट्रिय निकुञ्जभित्र बस्ने धेरै पर्यटकको उद्देश्य वा रुचि निकुञ्ज परिसर अवलोकनसँगै रिसर्च पनि हुन्छ । कतिपय पर्यटक रिसर्चकै लागि पनि आउँछन् । यसो गर्न सके राष्ट्रिय निकुञ्जमा पुग्ने पर्यटकको बसाइ अवधि पनि लम्ब्याउन सकिन्छ र यसले पर्यटकको मेनु पनि बढ्न गयो ।

‘टुरिस्ट इन्फरमेसन एप्स’
प्रविधिले हरेक कुरालाई सहज बनाइदिएको छ । तर विडम्बना ! नेपालमा आउने पर्यटकले प्रविधिको अझै भरपूर प्रयोग गर्न पाएका छैनन् । यसमा हामी चुकेकै भन्नुपर्छ । पर्यटक नेपाल आउँदा उसले सम्पूर्ण जानकारी एउटै एपमा हेरेर आउने सुविधा दिनुपर्नेमा अहिलेसम्म सम्भव भएको छैन । एपको अभावमा पर्यटकले नेपाल आइसकेपछि विमानस्थलमा अवतरण गरेदेखि नै अनेक झमेला खेपिरहेको छ ।

कतिपय पर्यटकहरू ठगिएका छन् । यसको व्यवस्थापनका लागि सरकार र निजी क्षेत्र दुवै मिलेर प्रविधिलाई पर्यटकमैत्री बनाउन आवश्यक छ र पर्यटक सूचनाका लागि आधिकारिक टुरिस्ट इन्फरमेसन एप ल्याउनैपर्छ । आधिकारिक एप भएमा पर्यटकको यात्रा सहज बन्न सक्छ । कुनै पनि पर्यटकले आफ्नै देश/घरबाटै बुकिङ गर्न सक्छ । त्यही एपले उसलाई सबै कुराको विस्तृत जानकारीसमेत दिन्छ । गन्तव्यको प्रोफाइल सबै राख्न सकेमा पर्यटकका लागि सहज हुनेछ । यसले मार्केटिङ पनि आफैं गर्छ ।

चुनौतीभित्रका अवसर
हामी सधैं सम्भावना र अवसरको मात्र चर्चा गर्छौं तर चुनौतीलाई केलाउने बानी छैन । नेपाल-भारत र चीनको बीचमा जोडिएको र दुवै देश प्रमुख धर्मसँग जोडिएका छन् । नेपाल पनि धर्मको उर्वरभूमि हो । पशुपतिनाथ, लुम्बिनी, मुक्तिनाथलगायत प्रसिद्ध धार्मिक स्थलहरू नेपालमै छन् । यिनै स्थलमा दुई मुलुकबाट बढी भन्दा बढी पर्यटक भित्र्याउन सकिन्छ । यति ठूलो अवसर हुँदा-हुँदै पनि सम्भव किन भइरहेको छैन । यसको अर्थ कतैं न कतैं खाडल (ग्याप) छ ।

हिमाल आरोहणको अहिलेको अवस्था हेर्दा युरोप अमेरिकाबाट धेरै पर्यटक आइरहेका छन् । पछिल्लो समय चिनियाँ पर्यटक केही हदसम्म बढेको देखिन्छ । भारतीय पर्यटकलाई तीर्थयात्रासँगै आरोहण तथा पदयात्रामा अझै जोड्न सकिएको छैन ।

पर्यटन क्षेत्र पूर्वाधारका कारण ‘इन्टर कनेक्टेड’ भएन । कुनै पर्यटक लुम्बिनी घुम्न आउँदा पोखरा घुमेर फर्कन्छुभन्दा ‘कनेक्टिङ’ को सुविधा भएन । इन्टरकनेक्टेड हुन सकेको खण्डमा पर्यटकले दुवै गन्तव्यमा घुम्न र बस्न पाउनेछन् । अहिले पूर्वाधारको कमीका कारण पर्यटकले पनि एउटा मात्र गन्तव्यको योजना बनाएर आइरहेका छन् । त्यसैले पर्यटकीय गन्तव्यलाई जोड्न जरुरी छ ।

त्यस्तै पर्यटनमा पर्याप्त लगानी भएको छैन । पछिल्लो समय हस्पिटालिटीमा मात्र लगानी बढेको छ । पर्यटकको आकर्षण के कुरामा छ भनेर निजी क्षेत्रले पनि रिसर्च गर्नुपर्छ । अहिलेको सन्दर्भमा स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरेर लगानीका लागि आकर्षित गर्नुपर्छ । त्यस्तै नियमनमै पनि समस्या छ । सरकारले दिने सेवामै समस्या छ । पुरानै कानुन भएकाले पनि कतिपय कामहरू सरकारी तर्फबाटै हुन सकेको छैन ।

बजारीकरण र ब्रान्डिङ गर्न सकिएको छैन । पर्यटनका लागि धनी छौं भनिरहँदा धेरै कुराको ब्रान्डिङमा पछाडि छौं । पर्यटकका लागि हामीले स्थानीय खाना दिन सकेका छैनौं । हरेक मुलुकमा ‘फुड कल्चर’ छ । तर, नेपालमा विदेशीलाई खाना वा खाजा पस्किँदा बाहिरकै खाना दिने चलन छ । खोई त नेपाली स्थानीय खाना ? अर्कातिर संस्कृतिमा धेरै धनी भएर पर्यटकलाई आकर्षित गर्न सकिरहेको अवस्था छैन । हरेक महिना जातजातिअनुसारका पर्व चलिरहेका हुन्छन् । यी नै पर्वलाई प्रवर्धन गरेर पनि पर्यटक आकर्षित गर्न सकिन्छ । तर, त्यसको अभ्यास गर्न सकिएको छैन । अहिले नेपाल गन्तव्यमै महँगो भयो भन्ने गुनासा आइरहेका छन् । नेपालतिर लागत बढी पर्ने भए पछि पर्यटकले सस्तो गन्तव्य खोज्न थालेका छन् । यस विषयमा सोच्नुपर्ने समय आएको छ ।

अबको योजना
अबको पर्यटन ‘जेनेरेसन’ केन्द्रित हुनुपर्छ । माउन्टेरिङ त छँदै छ । हिमाल चढ्न सक्ने जाने हुन्, सबै जान सक्दैनन् । त्यसैले युवापुस्ताले चाहेको गन्तव्य बनाउनुपर्छ । साच्चै पर्यटन प्रवर्धन गर्ने हो भने ‘टुरिजम प्याकेज’ एकीकृत हुनुपर्छ । आरोहणमा लाग्नेहरू आरोहणमा मात्र वा ट्रेकिङ गर्नेले ट्रेकिङमा मात्र होइन अर्को गन्तव्य र गतिविधिमा पनि पर्यटकलाई लैजान सक्नुपर्छ । पर्यटकलाई तान्न घुमघामको मेनुलाई इन्टरलिंक गर्नुपर्छ ।

अर्को भनेको ‘डेस्टिनेसन प्रमोसन’ नै हो । घुमघामका लागि सातै प्रदेशमा फरक गन्तव्य बनाउन सकिन्छ । एउटा प्रदेशले एउटा विधामा फोकस भएर काम गरेमा अम्भव भन्ने हुँदैन । अहिले गण्डकी प्रदेशको पोखरालाई पर्यटनको राजधानी भनेर घोषणा गरिएको छ । यस्तै सबै प्रदेशको एउटा/एउटा विशेषतालाई प्राथमिकता दिएर प्रवर्धन गर्नुपर्छ । मुलुक संघीयतामा गइसकेको अवस्थामा तीनै तहका सरकारले मिलेर काम गर्नुपर्ने देखिन्छ । स्थानीय तहको पर्यटन विकासका लागि स्थानीय तहले धेरै कामहरू गर्न सक्छन् ।

पर्यटकका लागि स्थानीय खाना खुवाउन र स्थानीय संस्कृति देखाउन सक्छ । यसले पनि ठाउँसँगै संस्कृति र खानाको प्रवर्धन हुन्छ । स-साना कुरालाई ध्यान दिएर तीनै तहका सरकारले मिलेर पर्यटन प्याकेज बनाउन सक्ने हो भने सहरदेखि गाउँसम्म पर्यटक तान्न सकिन्छ । त्यही प्याकेजलाई वर्णन गरेर बेच्न सके पर्यटनको सम्भावना ठुलो छ । यसका लागि नीतिगत स्थिरता आवश्यक पर्छ ।

पर्यटन विभागका महानिर्देशक रेग्मीको यो विचार ‘नाफिज जर्नल’ बाट लिइएको हो ।