बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार शिक्षा

कक्षा १२ को परीक्षा : शिक्षक महासंघबाहेक सरोकारवाला सबैले गरे परीक्षा नरोक्ने निर्णयको स्वागत

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ९ वैशाख, २०८२ मा प्रकाशित
कक्षा १२ को परीक्षा : शिक्षक महासंघबाहेक सरोकारवाला सबैले गरे परीक्षा नरोक्ने निर्णयको स्वागत
काठमाडौं, वैशाख ९ :

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नरोक्ने निर्णय गरेको छ । नेपाल शिक्षक महासंघको आह्वानमा देशभरका शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलनमा रहेको अवस्थामा बोर्डले निर्धारित मितिमै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

प्रधानाध्यापक, शिक्षक र विद्यालय कर्मचारी सहभागी नहुने अवस्थामा बोर्डले कसरी परीक्षा गराउँछ भन्ने धेरैको चासोको विषय पनि बनेको छ । बोर्डले निजामती कर्मचारी र सुरक्षा निकायको सहयोगमा भए पनि परीक्षा नरोक्ने नीति लिइसकेको छ । शिक्षकहरुको आन्दोलनका कारण सामुदायिक विद्यालयका ५५ लाख विद्यार्थीको पढ्न पाएका छैनन् ।

यसैबीच रिपोर्टर्स क्लब नेपालले शिक्षासँग सरोकार राख्ने निकायसँग मंगलबार अन्तर्क्रिया गरेको छ । अन्तर्क्रियामा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का सह-अध्यक्ष गोपालप्रसाद आचार्यले कक्षा १२ को परीक्षा निर्धारित मितिमै सञ्चालन हुनुको विकल्प नरहेको बताए ।

शिक्षक महासंघको अडान : कक्षा १२ को परीक्षामा सामेल हुँदैनौं

पठनपाठन र परीक्षा ठीक समयमा हुन सकेन भने आगमी दिनमा देश चलाउने जनशक्ति नै कमजोर भएर जाने उनले बताए । ‘परीक्षा र पठनसंस्कृति ठीक ढंगले ठीक समयमा हुन सकेन भने हाम्रो देश चलाउने जनशक्ति कमजोर भएर जान्छ । समाज, विद्यार्थी र अभिभावकहरुको मनोविज्ञान यो कक्षा १२ को परीक्षा समयमा सञ्चालन होस् भन्ने छ,’ आचार्यले भने ।

त्यस्तै, राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन, नेपाल (एनप्याब्सन) का अध्यक्ष सुवास न्यौपानेले शिक्षकहरुको आन्दोलनले विद्यार्थीको पढ्न पाउने नैसर्गिक अधिकार हनन हुन नहुने बताए । ‘अहिले ५५ लाख विद्यार्थी भाइबहिनीहरु पढाइबाट वञ्चित हुनुभएको छ । पढ्न पाउनु विद्यार्थीहरुको नैसर्गिक अधिकार हो । नैसर्गिक अधिकार वञ्चित हुन हुँदैन,’ उनले भने ।

प्रचण्ड भन्छन्- पटकपटक धोका भएको छ, आन्दोलन नरोक्नू

उच्च माध्यमिक विद्यालय संघ (हिसान) का उपाध्यक्ष रामहरि सिलवालले कक्षा १२ को परीक्षा नरोक्ने बोर्डको निर्णय स्वागतयोग्य रहेको बताए । उनले भने, ‘परीक्षा वर्षभरी पढेको विषय मापन गर्ने र शैक्षिक यात्रा अगाडि बढाउने माध्यम पनि हो । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नरोकिने निर्णय गरिसकेको सन्दर्भमा एउटा सरकारी निकायले परीक्षाको तालिका जे छ, त्यहीअनुसार अगाडि बढ्ने प्रतिवद्धता जनाइरहेको सन्दर्भमा यो स्वागतयोग्य कुरा हो । कर्मचारीलाई राखेर गराउँछ, अथवा अरुबाट गराउँछ, त्यो हाम्रो सरोकारको विषय होईन । परीक्षा हुनुपर्छ भन्ने हामी मान्यता राख्छौं ।’

अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले बालबालिकाको शिक्षा पाउने अधिकार हनन हुन नहुने बताए । अहिले अभिभावकहरुको चाहना आफ्ना सन्तानहरुले राम्रोसँग पढ्न पाउनुपर्यो भन्ने नै रहेको उनले बताए । ‘शिक्षा प्राप्त गर्न पाउने नैसर्गिक अधिकार, मानवअधिकार र बाल अधिकारको रक्षा गर्नुपर्छ । हामी त्यो लाइनबाट बाहिर जान सक्दैनौं । एउटा अभिभावकले पनि चाहने के हो भने आफ्नो सन्तानले पनि राम्रोसँग पढ्न पाउनुपर्यो, राम्रो शिक्षा प्राप्त गर्न पाउनुपर्यो भन्ने हो,’ उनले भने ।

प्रधानमन्त्रीले भने- शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको हो, असहमतिले होइन

शिक्षकहरुको आन्दोलनको कारण विद्यार्थीहरुले भर्ना हुन नपाएको उनले बताए । शिक्षकहरुको आन्दोलनको बीचमा निजी विद्यालयका विद्यार्थीहरुले पढ्न पाइरहेको र सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीहरु यसबाट वञ्चित हुनुपरेको उनले बताए । कक्षा १२ को परीक्षामा शिक्षकहरुलाई समेटेर अगाडि बढ्दा राम्रो हुने उनको भनाइ छ ।

नेपाल शिक्षक महासंघका सचिव हरिप्रसाद जोशीले भने आफू शिक्षा ऐन नलिई कार्यक्षेत्रमा नफर्किने प्रण गरेर आन्दोलनमा होमिएको बताए । शिक्षकहरुको आन्दोलन उत्कर्षमा पुग्नै लाग्दा शिक्षामन्त्रीले राजीनामा दिनु दुःखद् विषय रहेको उनले बताए । ‘शिक्षा क्षेत्रका कुनै पनि कार्यक्रममा सहभागी नहुने गरी हामी शैक्षिक हड्ताल घोषणा गरिसकेका छौं,’ उनले भने, ‘कक्षा १२ को परीक्षामा सहभागी नहुने, एसईईको उत्तरपुस्तिका परीक्षण नगर्ने भनेर हामीले निर्णय गरिसकेका छौं । त्यो निर्णयबाट हामी ब्याक हुँदैनौं ।’

यो पनि…

महासंघले भन्यो- कक्षा १२ को परीक्षामा सामेल हुन शिक्षकहरुलाई धम्कीसहित दबाब आयो

तोकिएकै समयमा परीक्षा सञ्चालन हुन्छ : बोर्ड

इलाम सीमावर्तीका अभिभावकलाई थाहा छैन शिक्षक आन्दोलन, भन्छन्- हामी त बच्चा पढाउन भारत जानुपर्छ
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार