
वि. सं २०७२ वैशाख १२ गतेको भूकम्पले आंशिक क्षतिग्रस्त पशुपति क्षेत्रको महास्नान घर पुनः निर्माण सम्पन्न भएको करिब एक वर्षपछि भासिएको छ ।
आंशिक क्षतिग्रस्त महास्नान घर नेपाल इन्भेष्टमेन्ट बैङ्कले जीर्णोद्धार गरेको थियो । बैङ्कले जीर्णोद्धार सम्पन्न गरी महास्नान घरमा दुई वर्षअघि २०७९ भदौ पहिलो साता पशुपति सङ्ग्रहालय उद्घाटन गरिएको थियो ।
सङ्ग्रहालय उद्घाटन गरिए पनि सञ्चालन मापदण्ड नबनेका कारण बन्द नै गरिएको अवस्थामा भासिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
महास्नान घर भासिएपछि चालु आर्थिक वर्षमा पुनःनिर्माणका लागि बजेट व्यवस्थापन गरिएको कोषका कार्यकारी निर्देशक सुवासचन्द्र जोशीले जानकारी दिनुभयो ।
महास्नानघरको भुइँतलाको भागमा प्रहरी बस्ने गरेको थियो । भवन भासिएपछि प्रहरीलाई त्यहाँबाट स्थानान्तरण गरिएको छ ।
महास्नान घर निर्माणकालमा चौघेरा सत्तल एकै पटक नबनेका कारण भासिएको हुनसक्ने अनुमान गरिएको कोषका इन्जिनियर रिका जोशीले बताउनुभयो ।
भासिएको भवनलाई तत्काल टेको लगाएर हाललाई भत्किनबाट जोगाएको कोषले जनाएको छ ।