पाँचथर, भदौ १५ :

पाँचथरको फालेलुङ गाउ‘पालिका ५ मा बिहीबार विस्फोटमा परी गम्भीर घाइते भएका दुई जना बाल बालिकाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा प्राङवुङ डाडागाउ‘ टोलका ११ वर्षीय दिप्सन साँवा र उहाँकी २ वर्षीय बहिनी प्रिन्सा साँवा रहेका छन् । 

उनिहरु दुवै जना स्थानीय दिलीप साँवाका छोराछोरी रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

विस्फोटमा परी स्थानीय ज्ञानबहादुर राईका ९ वर्षीय छोरा पवन राई घाइते छन् । हिजो दिउँसो तीन बजेको समयमा स्थानीय आइतराज केरुङको घरमा विस्फोटमा परी उनीहरू घाइते भएको प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिनुभयो । ।

घाइते भए लगत्तै उपचारका लागि पाँचथर अस्पताल लगिएका दिप्सन र प्रिन्सालाई तत्कालै झापा रेफर गरिएकोमा प्रिन्साको राती १० बजे इलाम लैजाँदै गर्दा बाटोमै र दिप्सनको राती १ बजे वि. एन्ड सी अस्पताल झापामा निधन भएको पनि भण्डारीले बताउनुभयो ।

घाइते मध्येका पवनको अवस्था सामान्य छ उनको पाँचथर अस्पतालमै उपचार भइरहेको छ । 

उनीहरू होम मेड ग्रिनेट पड्केर घाइते भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय पाँचथरले अनुमान गरेको छ भने घटनाको अनुसन्धान जारी रहेको जनाइएको छ ।