काठमाडौं, वैशाख १४ :

अबदेखि भाटभटेनी सुपरमार्केट प्रालि र बिगमार्ट प्रालिले अरू उत्पादक वा आयातकर्ताले उत्पादन वा आयात गरेका वस्तुहरूमा आफ्नै लेबल टाँसी बिक्री गर्न नपाउने भएका छन्।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ६ को उपदफा ३ अनुसार दुवै स्टोरलाई यस्तो निर्देशन दिएको हो।

उक्त ऐनमा उपभोक्तालाई वस्तुको उत्पादन वा आयात सम्बन्धी स्पष्ट जानकारी उपलब्ध गराउने उद्देश्यले उत्पादकले उत्पादन गरेका वा आयातकर्ताले आयात गरेका वस्तुहरूमा अनिवार्य रूपमा नेपाली वा अंग्रेजी भाषामा लेबल टाँस्नुपर्ने व्यवस्था छ।

विभागका अनुसार अबदेखि दुवै स्टोरले आफूले उत्पादन गरेका वस्तुहरूमा मात्र आफ्नो लेबल प्रयोग गर्न पाउनेछन्। अन्य आयातकर्ताबाट आयात भएका वस्तुहरूमा आयातकर्ताको लेबल नै यथावत् राखी बिक्री गर्नुपर्नेछ।

विभागले भनेको छ, ‘कम्पनीले आफैंले उत्पादन गरेका वस्तुहरूमा मात्र कम्पनीको लेबल प्रयोग गर्नुपर्नेछ। अन्य आयातकर्ताबाट आयात गरिएका वस्तुहरूमा तिनीहरूको लेबल नै कायम राखी बिक्री गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ।’

दुवै स्टोरले विभागको निर्देशन यही वैशाख १२ गतेदेखि लागू गरिसकेको जनाएका छन्। विभागका अनुसार अबदेखि आयातकर्ताको लेबल भएको वस्तु मात्रै ती स्टोरमा भित्रिनेछ।