
भरतपुर महानगरपालिकाले एक अर्ब ५० करोडभन्दा बढीको लगानीमा महानगरीय चक्रपथ निर्माण अन्तिम चरणमा पुर्याएको छ ।
सङ्घ र प्रदेश सरकारसँगको सहकार्यमा बृहत् आयोजना अन्तिम चरणमा पुगेको हो ।
राप्ती र नारायणी नदी, मध्यवर्ती र सामुदायिक वन किनार हुँदै महानगरको अधिकांश भागलाई समेट्ने गरी ८८ दशमलव छ किलोमिटर लामो चक्रपथ निर्माण गरिएको हो ।
महानगर प्रमुख रेनु दाहालले भरतपुर महानगरपालिका, सङ्घीय सरकारको डिभिजन सडक कार्यालय, सघन सहरी तथा भवन निर्माण आयोजना र प्रदेश सरकारको प्रदेश पूर्वाधार कार्यालयले विभिन्न खण्ड छुट्याएर चक्रपथ निर्माण गरेको जानकारी दिनुभयो ।
झण्डै ९० प्रतिशत काम सम्पन्न भइसकेको र बाँकी कामका लागि पनि बोलपत्र आह्वान गरिसकिएको उहाँले बताउनुभयो ।
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती र वनक्षेत्रमा रूख कटानको समस्याले केही साँघुरो भए पनि अधिकांश ठाउँमा सात मिटर कालोपत्र गरिएको छ ।
चक्रपथले पूर्वपश्चिम राजमार्ग, नारायणगढ- मुग्लिन सडक, बाइपास सडक र प्रचण्ड मार्गलाई समेत ठाउँठाउँमा जोडेको छ।
अब ४ दशमलव एक किलोमिटर सडक कालोपत्र गर्न बाँकी रहेको र यो काम सम्पन्न भएपछि चक्रपथको सम्पूर्ण भाग कालोपत्र हुनेछ ।