
प्रधानमन्त्री केपी ओलीले नेपालमा लगानीका लागि बहुतै उपयुक्त वातावरण रहेकाले ढुक्क भएर लगानी गर्न स्वदेशी र विदेशी लगानीकर्तालाई आग्रह गरेका छन् ।
कोसी प्रदेश सरकारद्वारा आयोजित कोसी लगानी सम्मेलन २०८२ को आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अनेक हिसाबले जुनसुकै क्षेत्रमा नेपालमा लगानीका निम्ति उपयुक्त वातावरण रहेकाले आन्तरिक र बाह्य लगानी परिचालनमा ध्यान दिन प्रशासनिक क्षेत्रलाई पनि आग्रह गरे ।
‘पूर्वाधार निर्माण भइसकेको समय भएकाले ढुक्कले लगानी गर्न सक्नुहुन्छ । लगानीका लागि सरकारका तर्फबाट कुनै समस्या पर्न दिइन्न । कोसी प्रदेश पूर्वाधार विकास र सडक सञ्जालसँग जोडिएको छ । लगानी गरेर उत्पादन बजारमा लाने समयसम्म एसियालीस्तरको छ लेनको पूर्व पश्चिम राजमार्ग हामी बनाइसक्छौँ । हामी कच्चा पदार्थ पनि ल्याउन सक्छौँ । त्यसकारण हरेक क्षेत्रमा नयाँ नयाँ सम्भावनाहरुलाई हामीले पहिल्याउन सक्छौं,’ प्रधानमन्त्री ओलीले भने, ‘देशमा सामान ल्याउन र लान कुनै हिसाबले रोकिँदैन । आफ्नो उत्पादनको बजार कोसी प्रदेशका विभिन्न कोरिडोर र नाकामा लान सक्ने गरी बाटो बनिसकेको छ । विराटनगरसहित विभिन्न विमानस्थल विस्तार गरिनेछ । सांस्कृतिक, धार्मिक र पर्यटकीय क्षेत्रका साथै सगरमाथासहित विभिन्न हिमाल र जडीबुटीको थलो कोसीका जनता शिक्षित र मिहिनेती छन् । त्यस कारण पनि यहाँ लगानीको प्रचुर सम्भावना छ ।’