धरान, वैशाख १९ :

धरानमा साङ्गीतिक कार्यक्रम ‘ऊनको स्विटर साँझ’ गरिएको छ । नेपाली चलचित्र ‘ऊनको स्विटर’ को प्रचारको एक महत्त्वपूर्ण प्रयास स्वरूप धरान रङ्गशालामा बिहीबार साँझ आयोजित कार्यक्रममा ६ हजारभन्दा बढी दर्शकको उपस्थिति थियो ।

कार्यक्रमका लागि पाँचथरको फिदिमदेखि धरानसम्मको २०० किमि बाटोमा मोटरसाइकल र्‍यालीमार्फत दर्शक आएका थिए । अन्य गाउँ-गाउँदेखि समेत दर्शक आएका थिए ।

कार्यक्रममा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ, उपमेयर आइन्द्रविक्रम बेघालगायत व्यक्तिको उपस्थिति थियो । चलचित्रका प्रमुख कलाकार विपिन कार्की, मिरुना मगर, विल्सनविक्रम राई, परीक्षा लिम्बू, एलेक्स पारस, निर्देशक नवीन चौहान, गायक सुजन चापागाईं, गायिका तथा सङ्गीतकार झुमा लिम्बू, गीतकार युवराज काफ्लेलाई नगरप्रमुख साम्पाङले स्वागत तथा सम्मान गरे ।

सुजन चापागाईं र उनको ‘द इन्फिनिटी ब्यान्ड’ले ‘लजाएर एक्लै किन’, ‘तिमीबिना तिमी हुनु’, ‘फूलथुङ्गे रानी’, ‘आँसुको भारी’, ‘गाला पुक्क’, ‘तीनपाते’, ‘मखमली’ लगायतका चर्चित गीतहरू प्रस्तुत गरे । गायिका झुमा लिम्बूसँगको ‘काफ्ले’ गीतले दर्शकलाई विशेष रूपमा आकर्षित गर्‍यो ।

कार्यक्रममार्फत सङ्कलित मुनाफा धरान उपमहानगरपालिकाको श्रम संस्कृति अभियानलाई आर्थिक सहयोग स्वरूप हस्तान्तरण गरिने चलचित्रका निर्देशक नवीन चौहानले बताए । यसअघि पोखरा र काठमाडौंमा पनि ‘ऊनको स्विटर’ साँझको आयोजना गरिएको थियो ।

निर्देशक चौहानको पहिलो फिचर चलचित्र ‘ऊनको स्विटर’ वैशाख २६ गतेदेखि विश्वव्यापी प्रदर्शनमा आउँदै छ । यसअघि ‘घुमी घुमी’, ‘देखेर तिमीलाई- तीनपाते’, ‘फूलथुङ्गे रानी’, ‘चन्द्रमा’ जस्ता साङ्गीतिक चलचित्रहरू निर्देशन गरेका चौहानले यस चलचित्रको लेखन पनि गरेका हुन् । चलचित्रको छायाङ्कन पाँचथर र नेपाल-भारत सिमाना फालेलुङमा गरिएको हो ।

आर्टमान्डू प्रालिले निर्माण गरेको यस चलचित्रमा विपिन कार्की, मिरुना मगर, सुनील पोखरेल, माओत्से गुरुङ, विल्सनविक्रम राई, प्रेम सुब्बा, एलेक्स पारस, परीक्षा लिम्बू, सुरज तमू, शारदादेवी सिलवाल, भावना खपाङ्गी मगरलगायत कलाकारको अभिनय छ ।

सङ्गीततर्फ, सुजन चापागाईं र झुमा लिम्बूले सङ्गीत निर्देशन गरेका छन् । यस चलचित्रका ‘फूल’, ‘मखमली’, र ‘काफ्ले’ जस्ता गीतहरू तथा हालै सार्वजनिक ट्रेलर सामाजिक सञ्जालमा निकै लोकप्रिय भएका छन् ।