काठमाडौँ, भदौ १७ :

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले आर्थिक वर्ष २०८०- ८१ मा ४४ व्यवसायी विरुद्ध मुद्दा दायर गरेको छ । 

अनुगमन तथा सङ्कलित नमूनाको परीक्षणबाट देखिएको कैफियतका आधारमा मकवानपुरका सात, काठमाडौँका २४, चितवनका पाँच र धुलिखेलका आठ गरी ४४  व्यवसायी विरुद्ध खाद्य स्वच्छता तथा गुणस्तर ऐनअन्तर्गत मुद्दा दायर भएको हो ।
 
अनुगमनका क्रममा सङ्कलन गरिएको नमूना परीक्षणका क्रममा स्वास्थ्य प्रतिकूल हुने गरी मिसावट गर्ने, म्याद गुज्रेको सामान बिक्री गर्ने ३२ व्यवसायी विरुद्ध सम्बन्धित जिल्ला अदालत र १२ जनाविरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाका प्रमुख काशीनाथ घिमिरेले जानकारी दिनुभयो ।

उक्त आर्थिक वर्षमा कार्यालयले ऐन, नियमबमोजिम सङ्कलित तीन ५०, अनुज्ञापत्र तथा नवीकरण गर्न सङ्कलित दुई हजार ७४, अनुरोधात्मक नमूना एक सय ५२ र खाद्य स्वच्छता सर्भिलेन्सका लागि एक सय ६२ गरी दुई हजार सात ३८ नमूना विश्लेषण गरिएको प्रमुख घिमिरेले बताउनुभयो । 

नमूना विश्लेषण गर्दा प्रतिकूल आएका ८५ नमूनाहरूलाई नियमानुसार कानुनी प्रक्रिया अघि बढाउने, पुनः जाँच गराई मापदण्डअनुरुप सुधार गर्न लगाउने तथा व्यवसायीलाई सजग गराई प्रतिबद्धता गर्न लगाइएको प्रमुख घिमिरेको भनाइ छ ।
 
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवन र सिन्धुली तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाका खाद्य निरीक्षकहरूबाट  सङ्कलित तीन सय नौ वटा नमूनामाथि थप अनुसन्धान अघि बढाइएको कार्यलयले जनाएको छ ।