आइतबार, ८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति कोसी प्रदेश

मेरो नेतृत्वको सरकार बिचौलिया र दलालले ढाले : अध्यक्ष दाहाल

‘हामी पटक-पटक कांग्रेस र एमालेसँग मिल्यौं, जसका कारण हामी पनि उनीहरू जस्तै देखियौं’
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २७ वैशाख, २०८२ मा प्रकाशित
मेरो नेतृत्वको सरकार बिचौलिया र दलालले ढाले : अध्यक्ष दाहाल
पाँचथर, वैशाख २७ :

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पछिल्लोपटक सरकारको नेतृत्व गर्दा सामाजिक न्याय, सुशासन र आर्थिक सुधारका अभियानहरू सञ्चालन गर्दै गर्दा बिचौलिया र दलालहरुले सरकार ढालेको दाबी गरेका छन् ।

‘बैंक ब्याजदर घटाउने, बैंकिङ प्रणाली सुधार गर्ने, जनताको पक्षका विचौलिया दलालहरुको विपक्षीमा काम गर्दा बिचौलिया र दलालहरूलाई मन परेन, त्यसैले अपारदर्शी ढंगले रातारात सरकार ढालियो,’ माओवादी पाँचथर जिल्ला समन्वय समितिले शनिबार फिदिम बजारमा गरेको सभामा अध्यक्ष दाहालले भने ।

उनले संविधान मिचेर सरकार ढालेको दाबी गरे । उनले भने, ‘हामी पटक-पटक कांग्रेस र एमालेसँग मिल्यौं, जसका कारण हामी पनि उनीहरू जस्तै देखियौं । अब भने हामी मिल्ने छैनौं । हामी आफ्नै खुट्टामा उभिएर अघि बढ्नेछौं ।’

स्थानीय तह, स्ववियु निर्वाचन, पत्रकार महासंघलगायत पछिल्ला निर्वाचनमा माओवादी केन्द्रले उल्लेखनीय परिणाम ल्याएको जनाउँदै उनले आगामी निर्वाचनमा पार्टी एक्लै अगाडि बढ्ने र जनताको पक्षमा सुरु गरिएका कामलाई निरन्तरता दिइने दाबी गरे ।

देशका विभिन्न भौगोलिक क्षेत्रलाई आपसमा जोड्ने मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग र देशभरका उत्तर-दक्षिण करिडोरजस्ता पूर्वाधार विकासका अभियान माओवादी नेतृत्वको सरकारका पालामा सुरु गरिएको उनको जिकिर छ ।

भर्खरै सम्पन्न ‘जनतासँग माओवादी तराई-मधेस जागरण अभियान’ पार्टीको मात्रै नभई जनताको अभियान बनेको निष्कर्ष पार्टीले निकालेको दाहालले बताए । उनले केही दिनमै सुरु हुने औपचारिक चरण बैतडीबाट भए पनि पाँचथरको यो कार्यक्रम सोही अभियानको पूर्वसञ्चार भएको स्पष्ट पारे ।

‘मध्यपहाडी लोकमार्गको प्रस्तावक हामी हौं, यसको पूर्वी सुरुआत पाँचथरमा रहेको छ,’ उनले भने, ‘यस क्षेत्रका जनताको हितमा बनेका मध्यपहाडी लोकमार्गजस्ता पूर्वाधार अभियानहरू पनि हामीले नै सुरु गरेका हौं ।’

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार