
बागलुङको उपल्ला चौरस्थित दाबगरा बसपार्क २३ वर्षपछि सम्पन्न भएको छ ।
जग्गा फिर्तामा ढिलाइ तथा पहुँचमार्ग विस्तार हुन नसक्दा बसपार्क सञ्चालन हुन सकेको थिएन । चार वर्षअघि निर्माण सम्पन्न भएको बसपार्क पहुँचमार्ग नहुँदा सञ्चालनमा आउन सकेको थिएन ।
ढिलै भए पनि बसपार्क सञ्चालनमा आएपछि जग्गादाता खुसी भएका छन् ।
बागलुङ नगरपालिकाले केही महिनाअघि बसपार्कको पहुँचमार्ग विस्तार गरेको हो । पहुँचमार्ग विस्तार भएसँगै बसपार्क सञ्चालनमा आइसकेको बागलुङ नगरपालिका प्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
नगरविकास कोषको ऋणमा बागलुङ नगरपालिकाले नौ करोड खर्चेर आधुनिक बसपार्क निर्माण गरेको थियो । निर्माण सम्पन्न भएपनि बसपार्क सञ्चालन गर्न नसक्दा ऋण तिर्न समस्या भएको थियो ।
बसपार्क सञ्चालनसँगै नगरपालिकाको नाममा रहेको जग्गादाताको बाँकी जग्गा पनि फिर्ता गर्ने प्रक्रिया अघि बढेको नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।