कञ्चनपुर, भदौ १८ :

गिद्ध संरक्षणमा युवाको सहभागिता बढाउनका लागि कञ्चनपुरको बेलौरी नगरपालिकामा सचेतना कार्यक्रमको आयोजना गरिएको छ ।

सोह्रौँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसको पूर्वसन्ध्यामा नेपाल पक्षी संरक्षण सङ्घको आर्थिक सहयोगमा बेलौरी नगर युवा सञ्जालले कार्यक्रमको आयोजना गरेको हो । 

बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरीले प्रकृतिका कुचिकार गिद्ध जोगाउनका लागि बासस्थान जोगाउन आवश्यक रहेको बताउनुभयो ।

उहाँले गिद्ध बस्ने अग्ला सिमल, सखुवा लगायत रूख मासिँदै गएपछि गिद्धको सङ्ख्यामा निकै कमी आएको बताउनुभयो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारादत्त अवस्थीले गिद्धको सङ्ख्यामा कमी आउँदा हैजा, टाइफाइड, आउ, झाडापखाला लगायत रोग देखिएको बताउनुभयो । 

चराविज्ञ हिरुलाल डगौराले नेपालमा नौ प्रजातिका गिद्ध पाइने गरेको बताउनुभयो । जसमा डङ्गर, सानो खैरो, सेतो हिमाली, लामो ठुडे, सुन, हाडफोर, खैरो र राज गिद्ध रहेका छन् । 

गिद्ध बारे आयोजना गरिएको कार्यक्रममा गिद्धको विगत र वर्तमान अवस्थाका बारेमा जानकारी दिइएको छ ।

प्रत्येक वर्षको सेप्टेम्बर पहिलो शनिबार अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइने गरिन्छ ।  नेपालमा भने सप्ताहव्यापी रूपमा सेप्टेम्बर १ देखि ७ सम्म मनाइँदै आइएको छ ।