काठमाडौं, जेठ ३ :

जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रित (मदन-आश्रित) स्मृति दिवसमा देशभर विभिन्न कार्यक्रम आयोजना गरिएका छन् ।

नेकपा एमालेका तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको रहस्यमय मृत्यु भएको दिन हरेक वर्ष जेठ ३ मदन-आश्रित स्मृति दिवस मनाइन्छ ।

एमालेले ३२औं स्मृति दिवस मनाउन पार्टीका सबै प्रदेश तथा जिल्ला कमिटीहरूलाई परिपत्र गरी स्मृतिसभा आयोजना गर्न र अन्य सिर्जनात्मक तथा विविध विधासँग सम्बन्धित कार्यसम्पादन गर्न निर्देशन गरेको एमाले केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीले जानकारी दिए ।

एमाले जनताको बहुदलीय जनवादको दिशानिर्देशबमोजिम अगाडि बढिरहेको र मुलुकको वाम तथा प्रजातान्त्रिक आन्दोलनका साथै पार्टी निर्माणमा मदन-आश्रितको देन, उत्सर्ग र समर्पणको सम्मान गर्दै सिर्जनात्मक कार्यक्रम आयोजना गर्न केही दिनअघि महासचिव शंकर पोखरेलले परिपत्रमार्फत निर्देशन दिएका छन् ।

स्मृति दिवसमा रक्तदान, स्थानीय टेलिभिजन तथा रेडियोहरूमा परिसंवाद, सरसफाइ कार्यक्रम, स्वास्थ्य शिविर, वृक्षरोपण कार्यक्रम राख्न निर्देशन दिइएको छ ।

त्यस्तै  स्थानीय तहका जनप्रतिनिधिलाई  अनिवार्य रूपमा श्रमदानमा चौतारो निर्माण, कुलो, पैनी, बगैँचाको हेरचाह, फुटबल, भलिबल ग्राउन्ड सरसफाइ, सार्वजनिक धारा, कुवा सरसफाइ, देउराली, मन्दिर, गुम्बा र अन्य धार्मिक स्थलको सरसफाइलगायत कार्य गर्न परिपत्रमा निर्देश गरिएको छ ।

एमालेबाट अलग्गिएर बनेको नेकपा एकीकृत समाजवादीले समेत कार्यक्रम गरी यो वर्ष मदन-आश्रित स्मृति दिवस मनाउँदै छ ।

२०५० जेठ ३ गते चितवनको कविलासस्थित दासढुंगामा जिप दुर्घटनामा परी भण्डारी र आश्रितको निधन भएको थियो । दुर्घटनामा भण्डारी र आश्रितको मृत्यु भए पनि जिप चालक अमर लामा भने जीवित थिए । २०६० सालमा लामाको पनि गोली हानी हत्या भएपछि यो घटना झनै रहस्यको गर्भमै छ ।

उसो त भण्डारीकी पत्नी विद्या भण्डारी मुलुकको सर्वोच्च पद राष्ट्रपतिमा दुई कार्यकाल बिताउँदा पनि दुर्घटनाको गुत्थी पहिल्याउन सकिएको छैन । पटकपटक नेकपा एमालेले सरकारको नेतृत्व गरे पनि वास्तविकता पत्ता नलागेको भन्दै आलोचना हुने गरेको छ । अहिले पनि नेकपा एमालेका अध्यक्ष केपी ओली नै सरकारको प्रमुख छन् । एमालेले दुर्घटनालाई हत्या भने पनि वास्तविकता पत्ता लाग्न सकेको छैन ।