
प्रधानमन्त्री केपी ओलीले तत्कालीन नेकपा एमालेका महासचिव एवं जननेता मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितप्रति उच्च सम्मान रहेको जनाएका छन् ।
प्रधानमन्त्री ओलीले आज (शनिबार) सामाजिक सञ्जालमार्फत मदन-आश्रितप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै उच्च सम्मान व्यक्त गरेका हुन् । ‘मदन-आश्रितको पवित्र स्मृतिमा हामी शिर निहुराउँछौं । उहाँको विचार र मार्गदर्शन सधैं हाम्रो प्रेरणा बन्नेछ । मदन-आश्रितप्रति भावपूर्ण श्रद्धाञ्जली र उच्च सम्मान व्यक्त गर्दछु,’ प्रधानमन्त्रीले लेखेका छन् ।
प्रधानमन्त्री ओलीले ३२ वर्षअगाडि आजको दिन आफूहरूले जननेता भण्डारी र कुशल संगठक आश्रितलाई गुमाएको बताएका छन् । ‘जननेता मदन भण्डारीको अगुवाइमा प्रतिपादित जनताको बहुदलीय जनवादको मार्गदर्शक सिद्धान्तले लोकतान्त्रिक परिवर्तनलाई सफल बनायो,’ प्रधानमन्त्रीले लेखेका छन् ।
तत्कालीन एमालेका महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रित २०५० जेठ ३ गते चितवनको दासढुंगा भन्ने ठाउँमा जिप दुर्घटना हुँदा निधन भएको थियो ।
३२औं मदन-आश्रित स्मृति दिवस : स्मृतिसभासँगै विभिन्न कार्यक्रमको आयोजना