काठमाडौँ, भदौ १८ :

संसदीय सुनुवाइ समितिले इजरायल, मलेसिया, पाकिस्तान र पोर्चुगलका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सकेको छ ।

समितिको आजको बैठकले प्रस्तावित राजदूत क्रमशः  प्रा धनप्रसाद पण्डित, डा नेत्रप्रसाद तिमिल्सेना, रिता धिताल र प्रकाशमणि पौडेलको संसदीय सुनुवाइ गरेको हो । गत साउन १४ गतेको मन्त्रिपरिषद् बैठकले विभिन्न मुलुकका लागि १७ जना राजदूत सिफारिस गरेको थियो ।

बैठकमा उहाँहरूले आ–आफनो अनुभव, सोच र अवधारणा प्रस्तुत गर्दै नेपाल र जिम्मेवारी प्रस्ताव गरिएको मुलकबीच द्विपक्षीय सम्बन्ध, व्यापार, पर्यटन, वैदेशिक लगानी र सहयोगका सम्भावित क्षेत्रबारे समितिलाई जानकारी गराउनुभयो ।

 यसअघि हिजो समितिले भारत, चीन, जर्मनी र डेनमार्कका लागि प्रस्तावित राजदूतको सुनुवाइ गरिसकेको छ ।

कतारका लागि रमेशचन्द्र पौडेल, रुसी महासङ्घका लागि जङ्गबहादुर चौहान, साउदी अरबका लागि नरेशविक्रम ढकाल, दक्षिण अफ्रिकाका लागि प्राडा कपिलमान श्रेष्ठ, दक्षिण कोरियाका लागि डा शिवमाया तुम्बाहाम्फेको संसदीय सुनुवाइ बाँकी नै छ । 

यसैगरी, स्पेनका लागि सनिल नेपाल, श्रीलङ्काका लागि रामकृष्ण भट्टराई, संयुक्त अधिराज्यका लागि चन्द्रकुमार घिमिरे र संयुक्त राज्य अमेरिकाका लागि लोकदर्शन रेग्मीको पनि संसदीय सुनुवाई केही दिनभित्रै हुनेछ ।