हुम्ला, जेठ ५ :

हुम्लाको नाम्खा गाउँपालिका–६ तिलगाउँमा लेदोसहितको पहिरोबाट पीडितलाई तत्काल राहत उपलब्ध गराउने निर्णय भएको छ। गृहमन्त्री रमेश लेखकको संयोजकत्वमा गृह मन्त्रालयमा बसेको सरोकारवालाको बैठकले राहत र उद्धार कार्य तुरुन्त अघि बढाउने निर्णय गरेको हो।

त्यसैगरी मन्त्री लेखकले प्रि-मनसुन पूर्व नै विपद् प्रतिकार्यका लागि आवश्यक तयारी र समन्वय थाल्न निर्देशन दिए ।उनले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई सात वटै प्रदेश र ७७ वटै जिल्लाका सुरक्षा समितिसँग छलफल गरी प्रि-मनसुन पूर्व नै तयारी थाल्न निर्देशन दिए ।

बैठकमा जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले पहिरोको कारण पत्ता लगाउन अध्ययन टोली गठन गर्ने जानकारी दिए। उनका अनुसार हिमताल विस्फोट भएको आशंका गरिए पनि त्यसबारे यकिन भइनसकेको र विस्तृत अध्ययनपछि मात्रै निष्कर्ष निकालिनेछ।

जलवायुविद् मञ्जित ढकालले हिमाली क्षेत्रहरूमा हिमताल फुट्ने जोखिम बढ्दो रहेकाले पूर्वसूचना प्रणाली जडानमा लगानी गर्नुपर्नेमा जोड दिए। उनले सतर्कता र पूर्वतयारी अपरिहार्य रहेको उल्लेख गरे।

हुम्लाको विकट क्षेत्र नाम्खा गाउँपालिका–६ तिलगाउँमा हिमताल फुटेर लेदोसहितको पहिरोले  सो क्षेत्रका ३२ परिवार विस्थापित भएका छन् ।