
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र नेपालका लागि युनेस्कोका प्रमुख तथा आवासीय प्रतिनिधि याको डु टुइटबीच लुम्बिनीसम्बन्धी महत्त्वपूर्ण छलफल भएको छ ।
संस्कृति मन्त्रालयमा बिहीबार भएको भेटवार्ताको मुख्य उद्देश्य युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीलाई खतराको सूचीमा नराख्ने उपायबारे छलफल भएको हो ।
मन्त्री पाण्डेले युनेस्कोका मापदण्डअनुसार लुम्बिनीमा विभिन्न सुधारात्मक काम भइरहेको जानकारी गराए । सरकारले तयार पारेको कार्ययोजना (एक्सन प्लान) कार्यान्वयनमा रहेको उनको भनाइ छ । साथै लुम्बिनीलाई स्थायी रूपमा खतराको सूचीमा नपार्ने रणनीति निर्माणका लागि युनेस्कोसँग प्राविधिक र संस्थागत सहयोग आवश्यक रहेको मन्त्री पाण्डेको धारणा छ ।
युनेस्को प्रमुख डु टुइटले संस्थाका तर्फबाट पूर्ण सहयोगको प्रतिबद्धता जनाउँदै, हालै सम्पन्न अन्तर्राष्ट्रिय वैज्ञानिक समितिको बैठकमा पनि लुम्बिनीसहित काठमाडौंका विषयमा सकारात्मक छलफल भएकामा सन्तोष जनाए ।
भेटका क्रममा मन्त्री पाण्डेले कपिलवस्तुको तिलौराकोटलाई विश्वसम्पदामा सूचिकृत तथा अन्य सम्भावित सम्पदालाई युनेस्कोको प्रारम्भिक सूचीमा समावेश गराउने विषयमा सहयोगको आग्रह गरे । उनले लुम्बिनीको दीर्घकालीन प्रवर्द्धनका लागि संयुक्त राष्ट्रसंघअन्तर्गत १६ राष्ट्र सम्मिलित समितिको हालसम्मको प्रगतिको जानकारीसमेत गराए ।