चितवन, भदौ १९ :

नारायणगढ- मुग्लिन सडक खण्डमा निर्माणाधीन दुई पुल दशैं अघि नै सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । 

सडकमा रहेका थप बाँकी दुई पुल भने कात्तिक सम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

निर्माण भइरहेका काली र नाम्सी खोलाको पुल दशैं अघि सञ्चालनमा ल्याउने तयारी गरिएको हो ।  नागढुङ्गा- मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ- मुग्लिन) का इन्जिनियर कृष्ण आचार्यले ती दुई पुलको कालोपत्रको काम मात्र बाँकी रहेको बताउनुभयो ।

सो सडक खण्डमा रहेका १९ पुलमध्ये चार वटा निर्माणाधीन रहेका छन् । बाँकी दुई तुइन र खहरे खोलाको पुलको पहुँच सडक तथा कालोपत्रको काम बाँकी रहेको छ । यी दुई पुल कात्तिक मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

विश्व बैङ्कको सहयोगमा अनक कन्सट्रक्सनले एक अर्ब २८ करोड रुपैयाँमा पुल निर्माणको ठेक्का पाएको थियो ।