
नेपाली चलचित्र क्षेत्रमा तीन दशकभन्दा बढी समयदेखि सक्रिय निर्देशक विजय केरुङले नयाँ चलचित्र ‘परिवर्तन’ निर्देशन गर्ने भएका छन् ।
‘माझी दाइ’, ‘आमाको काख’ लगायतका दर्जनौं चलचित्र निर्देशन गरिसकेका केरुङको यस नयाँ प्रस्तुतिमा एक इमानदार प्रहरी अफिसरको कथालाई केन्द्रीय रूपमा प्रस्तुत गरिनेछ । जसले कानुनप्रतिको कर्तव्य र प्रेमप्रतिको दायित्वबीचको संघर्ष भोग्दै जान्छ । यो चलचित्रले नेपालको सिमाना सुरक्षाको संवेदनशीलता, भ्रष्टाचारको काला सञ्जाल र गरिब, दु:खी तथा असहाय जनताको पीडादायी यथार्थलाई देखाउनेछ ।
चलचित्रमा पछिल्लो समयका डिमान्डेड कलाकारहरू अञ्जना बराइली र सुशील श्रेष्ठ प्रमुख भूमिकामा देखिनेछन् । ‘आउटल : दफा २१९’ बाट एक्सन अभिनेताका रूपमा पुनरागमन गरेका सुशील श्रेष्ठको लागि निर्देशक केरुङले ‘परिवर्तन’ अर्को माइलस्टोन साबित हुने दाबी गरेका छन् । त्यस्तै, ‘महापुरुष’, ‘पुजार सार्की’ र ‘पूर्णबहादुरको सारङ्गी’ जस्ता सफल चलचित्रहरूमा अभिनय गरेकी अञ्जना बराइलीको अर्को प्रतीक्षित चलचित्र ‘महाभोज’ पनि चाँडै रिलिज हुँदै छ । यस चलचित्रमा सुनील थापा, बुद्धि तामाङ, करिश्मा मानन्धर, आशा पौडेल, सुवास मेचे, पुकार भट्टराई, आएशा कार्की, गौतम तिवारी, यमनाथ खरेललगायत कलाकारहरूको पनि अभिनय रहनेछ ।
दिव्यासी फिल्म्स प्रालिको ब्यानरमा निर्माण हुने यस चलचित्रका निर्माता दीपक शिवाकोटी हुन् । उनी विगत १५ वर्षदेखि पूर्वी नेपालका सफल युवा व्यवसायीका साथै समाजसेवामा सक्रिय व्यक्ति हुन् । समाज परिवर्तनका पक्षपाती शिवाकोटीले सामाजिक मुद्दालाई सशक्त माध्यम चलचित्रमार्फत उठान गर्ने उद्देश्यले यो चलचित्र निर्माणमा हात हालेका हुन् । शिवाकोटीले नै चलचित्रको कथा लेखेका हुन् ।
चलचित्रको पटकथा तथा संवाद शिवम् अधिकारीले तयार पारेका छन् । अधिकारीले यसअघि ‘सिलसिला’, ‘दशगजा’, ‘रावायण’, ‘यो मन त मेरो नेपाली हो’ जस्ता दर्जनौँ चर्चित चलचित्रहरू लेखेका थिए । यो चलचित्रले समाजमा देखिने कर्तव्य र भावनाबीचको द्वन्द्व, एक प्रहरीको इमानदारी र मानवीय मूल्यहरूको टकराबलाई समेट्ने अधिकारीले बताए ।
छायाङ्कन निर्देशन शिव ढकालले, सम्पादन भूपेन्द्र अधिकारीले, द्वन्द्व निर्देशन श्री श्रेष्ठले, नृत्य निर्देशन कमल राईले तथा पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टले गर्नेछन् । निर्देशकको सहायकका रूपमा नवराज शर्मा रहनेछन् भने प्रोडक्सन हेड अरुण रेग्मी हुन् ।
‘परिवर्तन’ चलचित्रको छायांकन आगामी साताबाट सुरु हुने बताइएको छ । पूर्वी नेपालका विभिन्न जिल्लाहरूमा छायाङ्कन हुने र यसै वर्षभित्र प्रदर्शनमा ल्याउने लक्ष्य निर्माण पक्षले लिएको छ ।
‘परिवर्तन’ शीर्षकमा यसअघि पनि २०२८ सालमा चलचित्र निर्माण भएको थियो । जसको निर्देशन हीरासिंह खत्रीले गरेका थिए । अब झन्डै पाँच दशकपछि पुनः यही नाममा अर्को सशक्त कथा लिएर नयाँ ‘परिवर्तन’ दर्शक माझ आउन लागेको हो ।