
गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा भाद्र कृष्ण औँसीको अवसरमा सोमबार लागेको मेलाका कारण जम्मा भएको फोहर उठाउन ढिलाइ भएको छ ।
नेपाल र भारतका विभिन्न स्थानबाट आएका भक्तजनको गोकर्णेश्वर उत्तरगया क्षेत्रमा भीड लागेको थियो । उक्त भीडसँगै थुप्रिएको फोहर व्यवस्थापन हुन नसक्दा आज मन्दिर क्षेत्र प्रवेश गर्नै नसकिने अवस्था आएको भक्तजनको गुनासो छ ।
आज सूर्योदयकालमा औँसी तिथि रहेकाले केही भक्तजन श्राद्ध गर्न जम्मा भएका थिए । पितृप्रति श्रद्धाभाव प्रकट गर्न भोजपुरबाट आउनुभएका चन्द्रबहादुर अधिकारीले पितृतीर्थ धामका रुपमा परिचित गोकर्णेश्वर मन्दिर क्षेत्रमा थुप्रिएको फोहरले दर्शन गर्नै कठिन भएको गुनासो गर्नुभयो ।
बाग्मती नदीको किनारमा अवस्थित गोकर्णेश्वर मन्दिर वरपर भएको फोहर व्यवस्थापन नगरिँदा नदी थप प्रदूषित भएको छ ।
गुह्येश्वरी माथिको वाग्मती सफाइ अभियानले सोमबार दिउँसो ४ बजेपछि त्यस क्षेत्रमा सफाइ गरेपनि पूरै फोहर उठाउन नभ्याएको अभियानकर्मी भगवान् पुडासैनीले जानकारी दिनुभयो ।
गोकर्णेश्वर नगरपालिका- ४ का अध्यक्ष जयराम महतले सफाइमा समय लागेको स्वीकार गर्दै भोलिसम्ममा गोकर्णेश्वर क्षेत्रको सफाइ गरिने बताउनुभयो ।
बाबुको मुख हेर्ने औँसीका रुपमा चिनिने भाद्र कृष्ण औँसीमा बाबु बितेका छोराछोरीले गोकर्णेश्वर उत्तरगया क्षेत्रमा पूगी पिता प्रति सम्मान प्रकट गर्ने गर्छन् ।