
भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको सत्तारूढ गठबन्धनले संसद् र प्रादेशिक निर्वाचनमा ठुलो मतान्तरले विजय भएको छ । राष्ट्रपति निर्वाचनको नतिजालाई विपक्षी समूहले नक्कली भन्दै अस्वीकार गरेका छन् ।उक्त निर्वाचनलाई केही विपक्षी समूहले बहिष्कार गरेका थिए ।
सोमबार नेसनल इलेक्टोलर काउन्सिलका अनुसार राष्ट्रपति मदुरोको युनाइटेड सोसलिस्ट पार्टी र गठबन्धनमा सामेल दलहरुले राष्ट्रिय सभाका सिटका लागि आइतबार भएको मतदानमा ८२.६८ प्रतिशत मत प्राप्त गरेका छन् । सत्तारूढ गठबन्धनले देशका २४ मध्ये २३ राज्यमा गभर्नर पद जितेको पनि नेसनल इलेक्टोलर काउन्सिलले जनाएको छ ।
मदुरोले निर्वाचन नतिजालाई 'शान्ति र स्थिरताको विजय' भनेर स्वागत गरेको बताउँदै यसले ह्युगो चावेजको विचारधाराको शक्ति प्रमाणित गरेको बताए ।
विपक्षी समूहको नेतृत्व गरेकी मारिया कोरिना माचाडोले भने निर्वाचन निष्पक्ष नभएको बताउँदै यसलाई नाटकको संज्ञा दिएकी छिन् । उनले निर्वाचनलाई वैधता नदिन आग्रह गरेकी छन् ।