
प्रतिनिधसभाको बैठक आज चल्ने सम्भावना न्यून देखिएको छ ।
बानेश्वरस्थित संघीय संसद् भवनमा बुधबार बसेको विपक्षी दलको बैठकले गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म सदन अवरुद्ध राख्ने निर्णय गरेको छ। विपक्षी दलको अडानका कारण आज बैठक चल्ने सम्भावना छैन ।
माओवादीका सांसद माधव सापकोटाका अनुसार, ‘भिजिट भिसा प्रकरण’मा गृहमन्त्री समेत मुछिएको हुँदा नैतिक जिम्मेवारी लिँदै राजीनामा नदिएसम्म सदनको अवरोध यथावत् राख्ने सहमति भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फोन गरेर अवरोध अन्त्यको आग्रह गरेका थिए। तर, प्रचण्डले गृहमन्त्रीले राजीनामा नदिएसम्म अवरोध नहट्ने स्पष्ट जवाफ दिएका छन्।
यता, बालुवाटारमा बसेको प्रधानमन्त्री ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र गृहमन्त्री लेखकबीचको छलफलले लेखकलाई राजीनामा नगराउने निष्कर्ष निकालेको छ। यद्यपि, गृहमन्त्री लेखकले भने आवश्यक परे राजीनामा दिन तयार रहेको बताइएको छ।
विपक्षको कडाइ, सरकारको अडान र गृहमन्त्रीको तैयारीबीच सत्ता र विपक्षबीचको तनाव अझ चर्किने संकेत देखिएको छ।
