
नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले यही भदौ २४ गतेदेखि अनिवार्य अवकाश प्राप्त गर्दै हुनुहुन्छ ।
करिब ४२ वर्ष लामो अनवरत सैनिक सेवा एवं प्रधानसेनापतिको तीन वर्षे कार्यकाल सम्पन्न गरी उहाँ अवकाश हुन लाग्नुभएको हो ।
प्रधानसेनापति शर्माको सम्मानमा बुधबार जङ्गी अड्डाले विशेष समारोहका बीच बिदाइ कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा रक्षा सचिव रामेश्वर दंगालले नेपाली सेनाको संस्थागत सुदृढीकरण, आधुनिकीकारण र व्यावसायिक क्षमता वृद्धिका लागि प्रधानसेनापति शर्माले पुर्याउनु भएको योगदान चीरकालपर्यन्त स्मरणीय रहने बताउनुभयो ।
सचिव दंगालले नयाँ प्रधानसेनापतिको रूपमा कार्यभार सम्हाल्न लाग्नुभएका कायममुकायम प्रधान सेनापति अशोकराज सिग्देललाई बधाई ज्ञापन गर्दै रक्षा मन्त्रालय र नेपाली सेनाबीच रही आएको सौहार्द्रपूर्ण सम्बन्धलाई आगामी दिनमा थप सुदृढ र नतिजामुखी बनाउन आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताउनुभयो ।
कायम मुकायम प्रधानसेनापति सिग्देलले महारथी शर्माको सन्तुलित जीवन तथा शालीन शैली, जटिल परिस्थितिहरूको वस्तुपरक ढङ्गबाट सामना गर्न सक्ने क्षमताबाट आफू ज्यादै प्रभावित भएको बताउनुभयो ।
उहाँले नेपाली सेनाको साख तथा प्रतिष्ठालाई थप उचाइमा पुर्याउन महारथी शर्माले प्रदर्शन गर्नुभएको दृढता र समर्पण भाव नेपाली सेनाको इतिहासमा सदैव जीवन्त रहने बताउनुभयो ।
प्रधानसेनापति शर्माले नेपाली सेनामा नेतृत्व परिवर्तन नियमित प्रक्रिया रहेको उल्लेख गर्दै आफ्नो कार्यकालमा भएका दीर्घकालीन योजनाहरूको कार्यान्वयन तथा अन्य साङ्गठनिक उपलब्धिहरू सम्पूर्ण सकल दर्जाको सामूहिक प्रयासबाट सम्भव भएको बताउनुभयो ।
उहाँले आफ्नो कार्यकालमा भएका संस्थागत सुदृढीकरण एवं विविध सकारात्मक प्रयासहरूमा निरन्तर साथ, सहयोग र रचनात्मक सुझाव प्रदान गर्ने रक्षा मन्त्रालयलगायत सम्बद्ध सबैमा कृतज्ञता व्यक्त गर्नु भयो ।
कार्यक्रममा प्रधानसेनापति शर्माले नेपाली सेनालाई सम्झनास्वरूप उपहार प्रदान गर्नुभएको थियो भने नेपाली सेनाको तर्फबाट प्रधानसेनापतिलाई कामु प्रधानसेनापति सिग्देलले सम्झना स्वरूप उपहार प्रदान गर्नुभएको थियो ।