भदौ २१ :

हरितालिका तीजको अघिल्लो दिन आज दर खाएर मनाइँदै छ । दरखाने दिन परिवार, इष्टमित्र र छिमेकी भेला भएर विभिन्न परिकार खाँदै रमाइलो गर्ने चलन रहेको छ ।

दर खाएको भोलिपल्ट (तीजको दिन) निराहार व्रत बस्ने चलन भएकाले त्यसको अघिल्लो साँझ पौष्टिक तत्व भएको दर खाने चलन छ ।

नेपाली महिलाहरूले विशेष तयारीका साथ तीज पर्व मनाउने क्रम आजैको दिनबाट सुरु भएपनि नभ्याउनेहरुले एक महिना आगाडिबाट आफन्तकोमा दर खाएर फर्किने गर्दछन्।

दर खाने दिनलाई परिवार, नातेदार र आफन्तहरू बीचको एकता र मेलमिलापको प्रतीक मानिन्छ ।

दर भनेको दरो या आडिलो खानेकुरा भन्ने बुझिन्छ । भोलि व्रत या पूजा अर्चना गरेर मात्र खान पाउने प्रावधान भएको अवस्थामा अघिल्लो दिनको राति दरिलो वा आडिलो खाना खाने र सकेसम्म ढिलो खाना खाएर सुत्ने चलन रहेकोले ‘दर खाने दिन’ भनिएको हो ।