
चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को गीत सार्वजनिक भएको छ ।
सार्वजनिक ‘आमा’ गीतमा अर्जुन पोखरेलको शब्दरचना, संगीत र स्वर रहेको छ भने साथमा मनीषा सुनारको पनि आवाज छ । गीतमा विभिन्न आरोह/अवरोह छन् । लयमा रहेको उतारचढावले आइरहेका आम गीतभन्दा केही फरक देखिएको छ । लयमा रहेको भेरिएसनले गीतलाई गहकिलो बनाएको छ ।
गीतले सिनेमाको सार बोलेको छ । चलचित्रको मुख्य कलाकारले घर छोड्दादेखि सहरमा गरेको संघर्ष र खाएको हन्डरसम्म छ गीतमा । इमोस्नल गीतमा आमाको ऋण तिर्न र आँखाको आँसु पुछ्न काठमाडौं आएको बताउँछ । तर, घर छोडेर हिँड्दा सुरुमा जसरी काठमाडौं सहज र सरल होला भन्ने आम मान्छेले सोचेको हुन्छ, काठमाडौं भने ठीक त्यसको विपरीत रहेको गीतले बताउँछ ।
आमालाई सुख दिन्छु भनेर आएको छोराले जब काठमाडौंमा अनेकन हन्डर ठक्कर खान्छ अनि उसलाई अब बाँचेर घर फर्किन्न कि भन्ने झैँ लाग्ने गरेको गीतले समेटेको छ । आफूले काठमाडौंमा पैसा कमाउन नसकेपछि समय पनि रोकिदिए हुन्थ्यो भन्ने र बिरामी आमालाई चाँडै नलैजा है भनेर कालसँग बिसाएको बिन्तीले स्रोता तथा दर्शकको मन छुन्छ ।
आमाको आयु बढाउन गरेको आग्रहले मन भावुक बनाउँछ । मान्छे मान्छेजस्ता नरहेको र घर घरजस्ता नरहेको काठमाडौंको यर्थाथ चित्रणले सिनेमाको कथा बोलेको छ । निर्माणपक्षले यसअघि भन्दै आएको आमा र छोराको इमोस्नल कथा सिनेमाले भन्नेछ भन्ने कुरालाई यो गीतले प्रस्ट पारेको छ ।
चलचित्रका एसोसिएट निर्देशक मनीष राउतका अनुसार यो गीत आफ्नो वाचाको सफलता कुरिरहेका सम्पूर्ण आमा र आमाको खुसी खोज्न सहर पसेका छोरा-छोरीका लागि समर्पित गीत रहेको बताए ।
गीतको भिडियोमा सिनेमाका मुख्य कलाकारहरू विजय बराल, केकी अधिकारी, मिरुना मगर, शुशांक मैनाली, कविता आलेलगायतको अभिनय देख्न सकिन्छ ।
चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ भदौ ६ गते रिलिज हुनेछ । विजय यो सिनेमाको मुख्य कलाकार हुन् । निर्माणपक्षले विजयलाई ‘एपिक नेचुरल स्टार’को ट्याग दिएको छ ।
छायांकन सकिएको यो चलचित्र अहिले पोस्ट प्रोडक्सनमा छ । चलचित्र छायांकन काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेमा गरिएको छ ।
निर्देशक हिमाल न्यौपानेले ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ले आमा र छोराबीचको भावनात्मक कथा भन्दै छ, जुन कुरा यो गीतले पनि प्रस्ट पारेको छ ।
चलचित्रको एसोसिएट निर्देशकमा ‘प्रेमगीत ३’ अभिनेता मनीष राउत छन् । बलियो लाइनअप देखिएको चलचित्रमा अभिनेता विजय बरालसँगै अभिनेत्री केकी अधिकारी, अभिनेत्री मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटाको मुख्य भूमिका छ ।
यस्तै, चलचित्रमा रियर राई, कविता आले, तारा शर्मा, भावना खपाङी मगर, रुपेश लामा, सुमन थापा, सृष्टि खड्की, निरु खड्का गौतम, सुवाससिंह ठकुरीलगायतको पनि अभिनय छ ।
पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । सह-निर्मातामा आरके मानन्धर, रुपेश लामा, सीआर बस्नेत, नारायण तिमिसिना र चूडामणि शिवाकोटी छन् ।
थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रशान्त शिवाकोटीको संगीत रहेको चलचित्रमा नवीन गुरुङ डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको छ । चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन् । दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक रहेको सिनेमामा तर्कराज न्यौपाने, रवीन्द्र नेपाल, मोनिका थापा र आकाश केसी सहायक निर्देशक छन् । चलचित्रका निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन् ।
गोविन्द शाहीको काफिया फिल्मसले वितरणको जिम्मा लिएको छ । अल टाइम ब्लक बस्टर चलचित्र ‘पूर्णबहादुरको सारंगी’ पछि विजय बरालको मुख्य भूमिकामा आउन लागेको यस वर्षको यो पहिलो चलचित्र हो ।