धनगढी, जेठ २४ :

 बाजुराको बाम्का बजारमा आगलागी भएको भोलिपल्टै पर्यटनमन्त्री बद्री पाण्डे शनिबार घटनास्थल पुगेका छन्। शुक्रबार दिउँसो ग्यास सिलिन्डर पड्किएर आगो लागेको थाहा पाएपछि उनी बेलुकै काठमाडौँबाट बाजुरा गएका थिए।

घटनास्थलको अवलोकन गर्दै मन्त्री पाण्डेले आगलागीबाट क्षति भएका व्यापारीहरूलाई तत्काल राहत र पुनर्स्थापनाका लागि पहल गर्ने बताएका छन्। उनले तीनै तहका सरकार मिलेर पीडितको सहयोग गर्ने पनि प्रतिवद्धता जनाए।

अनुगमनपछि सदरमुकाम मार्तडीमा सरकारी अधिकारीहरूसँग बैठक गरी राहत कार्य छिटो सुरु गर्न निर्देशन दिएका छन्। शुक्रबारको आगलागीमा बाम्का बजारका ३५ वटा पसल जलेर नष्ट भएका थिए।