काठमाडौँ, भदौ २२ :

सरकारले दुग्ध विकास संस्थान (डिडीसी)लाई ६० करोड रुपैयाँ ऋण स्वीकृत गरेको छ ।

मन्त्रिपरिषद्को हिजो बसेको बैठकले दुग्ध किसानहरूको बक्यौता रकम तिर्नका लागि सर्तसहित ६० करोड रुपैयाँ ऋण दिने प्रस्ताव स्वीकृत गरेको सरकारका प्रवक्ता तथा सूचना, सञ्चार तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

यसैगरी, मन्त्रीपरिषद्को बैठकले फ्रान्सको पेरिसमा सम्पन्न पाराओलम्पिक्समा काँस्य पदक विजेता पलेशा गोवर्धनलाई ६५ लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरेको छ । साथै पलेशाका प्रशिक्षकलाई ५ लाख ८५ हजार र व्यवस्थापकलाई २ लाख ९२ हजार रुपैयाँ पुरस्कार दिइने भएको छ ।

एसियाली विकास बैकबाट सिँचाइ आधुनिकीकरण अभिवृद्द्धी  आयोजनाको लागि उपलब्ध १५ अर्व २९ करोड सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने सम्बन्धमा अर्थ मन्त्रालयको सहसचिवको नेतृत्वमा बार्ता टोलि गठन गर्ने निर्णय गरेको प्रवक्ता गुरुङले जानकारी दिनु भयो । 

त्यसैगरी बैठकले गंगादेव गाउँपालिका रोल्पाको नाम परिवर्तन गरी सुकीदह गाउँपालिका कायम गर्दै गाउँपालिकाको केन्द्र साबिक वडा न ५ सानडाँडाबाट वडा नं २ स्थित सुखाओडार जिनावाङ कायम गर्ने निर्णय गरेको छ ।

काठमाण्डौँ महानगरपालिका र दमक नगारपालिका लगायत बिभिन्न जिल्लाका ११ गाउँ पालिकालाई बिभिन्न परियोजनाको लागि आप्नै पालिकाको खर्चमा जग्गा प्राप्त गर्न स्विकृति दिने निर्णय पनि बैठकले गरेको छ । 

त्यसैगरी, बैठकले २०८१ भदौ ३१ गते काठमाण्डौमा हुने नेपाल अमेरिका टिफा काउन्सिलको सबतौ बैठकमा नेपालको तर्फबाट प्रस्तुत गरिने विषयसूची स्विकृत गरी वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।

त्यस्तै, बिमिस्टेक कृषि मन्त्रिस्तरीय कृषिसम्बन्धी उच्च पदाधिकारीहरुको तेस्रो बैठक २०८१ चैत्र १४ र १५ गते नेपालमा आयोजना गर्ने प्रस्ताव गर्न स्विकृति प्रदान गरेको छ ।

नेपाल राष्ट्रिय वनस्पति उद्यान र चीनको कुनमिङ वनस्पति उद्यानबिच भगिनी सम्बन्ध स्थापना गर्ने समझदारी पत्र स्विकृत गरी नेपालको तर्फबाट समझदारी पत्रमा हस्ताक्षर गर्न  वनस्पति बिभागका महानिर्देशकलाई स्विकृति प्रदान गरेको छ । 

 मन्त्रिपरिषद्को बैठकले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशकमा संगीता पहाडीलाई र रेडियो नेपाल विकास समितिको कार्यकारी निर्देशकमा अमरध्वज लामालाई नियुक्त गरेको छ ।

बैठकले संयुक्त राष्ट्रसंघको७९औ महासभामा असोज ७ गतेदेखि भाग लिनजानकालागि प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको भ्रमणटोलीलाई समेत स्वीकृति प्रदान गरेको सञ्चारमन्त्री गुरुङले जानकारी दिनुभयो ।।