
पोखरा, जेठ २७ :
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब जनताको भरोसा गुम्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन्। माओवादी केन्द्र पोखरा महानगर कमिटीको तेस्रो सम्मेलनमा बोल्दै उनले २०६४ सालझैँ जनताको भरोसा विचलित नहुने दाबी गरे।
पूर्वप्रधानमन्त्री दाहालले विगतका कमजोरीबाट पाठ सिक्दै क्रान्तिकारी शक्तिहरूलाई एक बनाउन इमानदार प्रयास भइरहेको बताए। उनले शान्ति प्रक्रिया र गणतन्त्रको नेतृत्वकर्ता भएको हैसियतमा अझ जिम्मेवार बन्ने बताएका छन्।
उनका अनुसार पार्टी एकतासँगै नयाँ आन्दोलन र क्रान्तिको सुरुआत भइसकेको छ। सम्मेलनकै अवसरमा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का केन्द्रीय सचिवालय सदस्य किरण थापा (अमोद) सहित १४ जना माओवादी केन्द्रमा प्रवेश गरेका छन्।